काठमाडौं : सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा मंगलबार शेयर बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २१ लाख ९८ हजार ७ सय ६४ जनाले २ करोड ५२ लाख १९ हजार ९ सय कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७ सय ७८ योग्य आवेदकमध्ये ६७ हजार ८ सय ९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ ।
कम्पनीले प्रतिकित्ता सय अङ्कित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका ७ लाख ३० हजार रुपैयाँ कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको थियो । कूल शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई, दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता शेयर कर्मचारीलाई र बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता शेयर सर्वसाधारण छुट्याइएको थियो ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका र माईजोगमाई गाउँपालीका क्षेत्रमा पर्ने माइखोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरेको छ । जलविद्युत् आयोजनाले गत असोज १ गतेदेखि व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको कम्पनीले जनाएको छ ।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।