काठमाडौँ, १६ कार्तिक
आईसीसी टि-२० विश्वकप अन्तर्गत सोमबार भएको सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई २६ रनले पराजित गरेको छ।
यो जित सँगै टि-ट्वान्टी विश्वकपमा इंग्ल्यान्डले लगातार चौंथो जित दर्ता गरेको छ। चौंथो जित दर्ता गर्ने क्रममा इंग्ल्यान्डका जोस बटलेले कीर्तिमानी शतक प्रहार गरेका छन् । उनले करियरकै पहिलो र जारि विश्वकपको एक मात्र शतक बनाउने क्रममा अविजित १०१ रन बनाएका थिए । उनले ६७ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै उक्त रन बनाएका थिए ।
टि-२० विश्वकप इतिहासमा शतक बनाउने बटलर दोश्रो इंग्ल्यान्ड क्रिकेटर हुन् भने टेस्ट, एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय तिन वटै फर्म्याटमा शतक बनाउने उनि पहिलो इंग्ल्यान्ड क्रिकेटर हुन्। यस अघि सन् २०१४ टि-२० विश्वकपमा एलेक्स हेल्सले श्रीलंका बिरुद्ध शतक ( ११६ रन ) बनाएका थिए। बटलरले अघिल्लो खेलमा अस्ट्रेलिया बिरुद्ध पनि ७१ रन बनाएका थिए।
शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाएको थियो। इंग्ल्यान्डको ब्याटिंगमा जोस बटलरले अविजित १०१ रन बनाए। यस्तै कप्तान ओएन मोर्गनले ३६ बलमा १ चौका र ३ छक्का मद्दतले ४० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब सुरुवात गरेको इंग्ल्यान्डले पावरप्लेको ६ ओभरमा ३६ रन बनाउदा ३ विकेट गुमाएको थियो।
इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाएको थियो।श्रीलंकाको लागि वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन, दासुन शनाका र भानुका राजापक्षले समान २६,चरिथ असलंकाले २१ तथा आविष्का फेर्नाँदोले १३ रन बनाए।
इंग्ल्यान्डको लागी बलर आदील रशिद, मोईन अलि, क्रिस जोर्डनले समान २ विकेट लिए भने लियाम लिभिंगस्टोन र क्रिस वोक्सले समान १-१ विकेट लिए। त्यस्तै श्रीलंकाका बलर वानिन्दु हसरंगाले तिन विकेट लिए।
४ खेलमा सबै खेल जितेको इंग्ल्यान्ड समुह ‘१’ अंकतालिकामा शिर्ष स्थानमा कायमै रहँदै सेमीफाइनल सम्भावना बलियो बनाएको छ। अस्ट्रेलिया र दक्षिण अफ्रीका ३ खेलमा समान २ जित र १ हार बेहोर्दै ४ अंक सहित दोश्रो र तेश्रो स्थानमा छन्। श्रीलंकाको भने ४ खेलमा तेश्रो हारपछि सेमीफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ।