काठमाडौँ : महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराएको हो । जीतसँगै नेपालको छनोटको सम्भावना कायमै छ । कुवेतले दिएको २८ रनको सानो लक्ष्य नेपालले मात्र ३ दशमलव ३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालकी इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडे । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा २७ रनमा अलआउट भएको थियो । कुवेतका लागि प्रियादा मुराली बाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका संगीता राई र कप्तान रुविना क्षेत्रीले तीन–तीन विकेट लिन सफल भए भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए ।
नेपालले हङकङसँगको पहिलो खेलमा हार ब्यहोर्नु परेको थियो भने दोस्रो खेलमा भुटानलाई सहजै हराएको थियो ।