केशब आचार्य,
काठमाडौं, २७ असोज : माल्दिभ्सको राजधानी माले स्थित राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिप २०२१ मा बुधबार राती भएको नेपाल र बंगलादेश बिचको खेल १ -१ गोलको बराबरीमा सकिएको छ ।
बराबरी सँगै नेपाल साफ च्याम्पियनसिपको फाइनल पहिलो पटक प्रवेश गरेको छ।
खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जनामा सीमित भएको बंगलादेशविरुद्ध ८८औं मिनेटमा बराबरी गोल फर्काउँदै फाइनल यात्रा तय गर्यो ।
नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए ।
त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।
नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा पेनाल्टीमार्फत् गोल गरेको थियो । गोल अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गरेका थिए ।
खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए ।
प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको थिएन ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो । त्यस्तै, तेस्रो खेममा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो ।
अहिले राति ९:४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ।