केशब आचार्य,
काठमाडौं, १९ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितअन्तर्गतको समूह चरणका खेल सकिएका छन्। सोमबार राति भएको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको आउटफिल्ड गिलो हुँदा काठमाडौं किंग्स-११ र भैहरवा ग्लाडिएटर्सबीचको समूह चरणको अन्तिम खेल रद्द भएको थियो।
अन्तिम खेलमा भैहरवासँग पराजित भएको अवस्थमा काठमाडौं बाहिरिन सक्थ्यो। खेल रद्द भएसँगै ललितपुर प्याट्रिओट्सलाई पछि पार्दै काठमाडौं प्लेअफमा पुग्यो। काठमाडौं किंग्स र ललितपुर प्याट्रियट्सको समान ३ अंक भए पनि काठमाडौं किंग्स राम्रो रन रेटका कारण प्लेअफमा पुग्यो।
५ खेलबाट ८ अंक जोडेको चितवन टाइर्गस शीर्ष स्थानमा रहन सफल भयो। पोखरा राइनोज ५ खेलबाट ७ अंक जोड्दै दोस्रो भयो। रनरेटमा पछि पर्दै तेस्रो बनेको भैरहवाले ७ अंक जोड्यो। अन्तिम खेल रद्द भएसँगै १ अंक जोडेको काठमाडौंले कुल ३ अंक जोड्दै चौथो बन्यो।
इपिएलको समूह चरणका खेल सकिएसँगै भोलि बाट क्वालिफायरमा राउण्डका खेलहरु हुने छन् ।
भोलि क्वालिफायरमा पहिलो खेल चितवन र पोखरा बिच हुने छ । जित हात पार्ने टिम फाइनल पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्न पाउनेछ। त्यस्तै भोलिनै हुने दोस्रो क्वालिफायरमा भैहरवा र काठमाडौंबीच हुनेछ। जित हात पार्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टिम बाहिरिनेछ ।