काठमाडौं : प्रतिनिधिसभामा जारी अवरोध हटाउने पहल स्वरुप सभामुख अग्नी सापकोटाले आज सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
बैठक आज दिँउसो २ः३० बजे संसद भवनको लोत्से हलमा बस्ने छ । उक्त बैठक बस्ने निर्णय आइतबार नै गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ । यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ ।
बुधबारदेखि सुरु भएको संघीय संसदको नवौं अधिबेशन अन्तर्गतको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेका सांसदहरुको नाराबाजीकैबीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो ।