Admission Open

नेकपा एस का जिल्ला कमिटी धमाधम गठन, खोटाङमा पार्टी कार्यालय स्थापना

दिक्तेल : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको समाजवादी पार्टीको शनिबार दिक्तेलमा पार्टी कार्यालय स्थापना गरिएको हो ।

दिक्तेलस्थित पुरानो बेसक्याम्पमा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी) का १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईले उद्घाटन गर्नुभयो । पार्टी कार्यालय उद्घाटन गर्नुहुँदै संयोजक राईले एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पु¥याएकाले आरोप लगाउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गर्नुभयो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले नवगठित पार्टीका पदाधिकारीलाई शुभकामना दिएका छन् । नेकपा मालेका पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद कुलप्रसाद फँुयाल, नेपाली कांग्रेसका नेतृ डिल्लीकुमारी आचार्य, नेकपा (माओवादी केन्द्र)का युवानेता विसन राई, जनता समाजवादी पार्टी नेपालका १ नं प्रदेश सदस्य सूर्यबहादुर राईलगायतले शुभकामना दिनुभयो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमालेबाहेक जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्टी कार्यालय उद्घाटनसँगै समाजवादी खोटाङको पहिलो बैठकसमेत सुरु भएको छ ।

बैठकमा पार्टीको भावी रणनीति तथा कार्ययोजनाबारे छलफल भइरहेको सचिवालय सदस्य एवं युवा तथा खेलकूद विभाग प्रमुख माइतीराज राईले जानकारी दिनुभयो । पार्टी कार्यालयमा जारी बैठकले ६१ सदस्यीय जिल्ला कार्यसमितिसमेत गठन गर्ने भएको छ ।

नवगठित पार्टीमा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङसहित २३ जना जिल्ला कार्यसमितिका पदाधिकारी आवद्ध भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सात जननिर्वाचित वडाध्यक्षसमेत आफ्नो पार्टीमा आवद्ध भएको समाजवादी खोटाङका जिल्ला सचिव जलशेर राईले जानकारी दिनुभयो ।

नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुख भने एमालेमै रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँचवटामा पालिका प्रमुख र सातवटामा उपप्रमुख जितेको थियो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमालेमै रहनुभएको भने प्रदेशसभा सदस्य राजन राई समाजवादीमा आवद्ध हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...