Admission Open

ad place

केन्द्रीय समितिको बैठक आजै समापन गर्ने माओवादीको तयारी   

काठमाडौँ, ३१ साउन : नेकपा (माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

ती दुई प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । टोली नेतामा प्रदेश नं १ बाट राम कार्की, प्रदेश नं २ बाट रामचन्द्र झा, वाग्मती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी र सम्पर्क प्रदेश, विशेष प्रदेश तथा प्रवासबाट युवराज चौलागाईंले अध्यक्ष दाहालका दुई प्रस्तावमाथि समूहगत रिपोटिङ गर्नुभएको हो ।

समूहगत रिपोटिङ गर्दै उहाँहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसात् गर्न माग गर्नुभएको थियो । यस्तै अमेरिकी सहयोग परियोजना एमसिसिका बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिइएको थियो ।

त्यसैगरी सरकार सञ्चालनको संयन्त्र बनाउन तथा जनयुद्धका क्रममा शहिद भएकालाई राष्ट्रिय शहिद घोषणा गर्न माग गरिएको बताइएको छ । यसैगरी पार्टीको जिल्ला समितिलाई समन्वय समिति बनाउन तथा प्रदेश समितिलाई कार्यकारी बनाउने विषयमा समेत केन्द्रीय सदस्यले सुझाव दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार टोली नेताले प्रस्तुत गर्नुभएको सुझावका सन्दर्भमा जवाफ दिने तयारीका लागि स्थायी समितिको बैठक बसेको छ । केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको जवाफ अध्यक्ष दाहालले दिनुहुनेछ । त्यसपछि आजै बैठक समापन गर्ने तयारी गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...