Admission Open

ग्रीसको इभियामा भिषण डढेलो, सयौं अग्निनियन्त्रक अझै सक्रिय   

इभिया, ग्रीस : ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भिषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ ।

डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् ।

ग्रीसको सरकारी टेलिभिजन टिभी अर्टले प्रशारण गरेका दृश्यहरु निकै भयानक देखिएका छन् । यी दृश्यमा अग्निनियन्त्रकहरु र स्वयंसेवीहरु इस्टानिया शहर नजिकैको एउटा ठूलो रुखको आड लिएर निरन्तर आगो निभाउने कार्यमा खटिएको देखाइएको छ ताकि त्यस ठाउँबाट डढेलो गाउँतिर फैलन नपाओस् ।

त्यस रुखको नजिकै एउटा विशाल आगोको ज्वाला देखिएको छ ।

डढेलो निरन्तर अघि बढेको भन्दै स्थानीय अधिकारीहरुले एभ्गारिया गाउँका बासिन्दालाई अन्यत्र जान आग्रह गरेको छ । तर धेरैजसो स्थानीयबासी अटेर गरी आफ्नै घरमा बस्न जिद्दी गरिरहेको एक स्थानीय अधिकारीले बताए ।

मध्य ग्रीसका गभर्नर फानिस स्पानोसले धेरैजसो गाउँबासीहरु अन्यत्र स्थानान्तरित हुन इच्छुक भए पनि केहीले आगो निभाउने कार्यमा सेवा गरिरहेको बताउनुभयो ।

स्पानोसले स्थानीयबासीको सहयोगका कारण धेरै गाउँ डढ्नबाट जोगिएको बताउनुभयो ।

डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो रोकिने अझै सम्भावना देखिएको छैन ।

आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् ।

सोमबार, आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा माग्नु भएको छ र जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताउनु भएको छ ।

राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगत रुपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भन्नुभयो ।

ग्रीसका अधिकारीहरुका अनुसार इभियामा झण्डै ६५० जना अग्निनियन्त्रकहरु अहिले आगो निभाउने कार्यमा खटिएका छन् ।

ग्रीसेली अधिकारीहरुले विषम तापमानका निम्ति जलवायू परिवर्तन मुख्य कारक रहेको बताएका छन् । राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तापमान वृद्धिले विगतमा सोचेभन्दा निकै बढी त्रास सिर्जना गरिरहेको जनाएको छ ।

गत साता अथेन्स नजिकै दुई व्यक्तिको मृत्यु भएको थियो । जसमा एक जना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए ।

अरु धेरै व्यक्ति धुँवा, पोलाई र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् ।

देशका धेरै जना मेयरले आगो निभाउन हेलिकप्टरजस्ता साधनको प्रयोगमा हेलचेक्रयाई भएको आरोप लगाएका छन् । विपक्षी दलका नेता अलेक्सिस चिप्रासले ट्वीट गर्दै स्थानीय अधिकारीहरु र नागरिकहरु एक्लो भएको बताउनु भएको छ । उहाँले सरकारले पर्याप्त सहयोग नगरेका कारण वनक्षेत्र तहसनहस भएको बताउनुभयो ।

विपक्षी नेता चिप्रासको भनाईको प्रत्यूत्तर दिँदै प्रधानमन्त्री मिचोटाकिसले हालैमात्र ५८० भन्दा बढी स्थानबाट आगो शुरु भएको बताउनुभयो । ग्रीसमा यति भयानक परिस्थिति कहिल्यै सिर्जना नभएको पनि बताउनुभयो ।

अभूतपूर्व तातो हावा र लामो सुख्खालाई नियन्त्रणमा ल्याउन त्यति सम्भव थिएन, प्रधानमन्त्रीले भन्नुभयो ।

नागरिक सुरक्षा उपमन्त्री निकोस हार्डालियासले आगो निभाउन पानी बोक्ने हेलिकोप्टरहरुले पनि अनेक समस्या झेल्नु परिरहेको बताउनुभयो । उहाँले हावाको तिब्र बेग, बाक्लो धुँवा र सीमित दृश्यताको कमी समेतका समस्या देखिएको बताउनुभयो ।

युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।

नागरिक सुरुषा अधिकारीहरुका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १,२०० भन्दा बढी अग्निनियन्त्रकहरु पठाएका छन् ।  (रासस–एएफपी)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...