Admission Open

गुह्येश्वरीमाथिको वाग्मती सफाइ ४०० औँ हप्तामा   

काठमाडौँ  : गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले ४०० औँ हप्ता प्रवेश कार्यक्रम नदी किनारमा सफा गरेर मनाइएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाको फोहर उठाएर लैजाने व्यवस्था नभएकाले प्लाष्टिकलगायत नकुहिने फोहरलाई व्यवस्थापन गरिएको छ । कुहिने फोहर भने नदी किनारमा लगाइएको बगैँचाका लागि मल बनाउन उपयोग गरिएको उहाँले सुनाउनुभयो । वाग्मती सफाइ महाअभियानलाई सफल बनाउन गुह्येश्वरीमाथिको सफाइको जिम्मेवारी यस क्षेत्रका विभिन्न संस्थाले लिएका छन् । यस क्षेत्रमा हाल वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा सफाइ हुने गरेको छ । यस क्षेत्रको सफाइमा अभियानकर्मी र स्थानीय तहका जनप्रतिनिधिको सक्रियता थियो ।

यसैगरी वाग्मती सफाइ महाअभियानको ४३०औँ हप्तामा गुह्येश्वरीस्थित नदी किनारमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा यस क्षेत्रमा सफाइ भएको हो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सञ्चालक सदस्य डा माला खरेल, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्यद्वय टेकराज अधिकारी र सिर्जना भेटवाललगायत कर्मचारी तथा अभियानकर्मीको सक्रियता थियो । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ ।

महाअभियान शुरु भएपछि वाग्मतीसँगै यसका सहायक नदी सफाइ अभियान पनि जारी छ । रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, मनोहरा, ललितपुरको गोदावरीखोला, चक्रपथको उत्तर र पश्चिमी खण्डमा पनि सफाइ गरिएको छ । महाअभियान शुरु भएपछि प्रत्येक हप्ता बिहान दुई घण्टा राष्ट्रका लागि स्वयं सेवा भन्ने नाराका साथ सफाइ अभियान चलिरहेको छ । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी, प्राकृतिक प्रकोपलगायत विपत्तिका बेलासमेत सफाइ अभियान जारी छ । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य मुख्य शहर, नदी एवं सांस्कृतिक स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

विसं २०७६ चैत ११ गतेपछि भने कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक दूरी कायम गरी सीमित अभियानकर्मीकाबीच सफाइ भइरहेको छ । नदी किनारभन्दा टाढा निवास हुने अभियानकर्मीले भने निषेधाज्ञा र बन्दाबन्दीका बेला टोल, घर सफाइ अभियानसहित जनचेतना जागृत गर्दै आउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...