Admission Open

महामारीमा ज्येष्ठ नागरिको स्वास्थ्य सुरक्षा चासो   

गण्डकी, २१ साउन : कोरोना महामारीको प्रभाव समाजमा हरेक वर्ग र क्षेत्रमा त छँदै छ यसले विशेषतः ज्येष्ठ नागरिकलाई प्रत्यक्ष प्रभावित बनाएको छ । महामारीका कारण झण्डै दुई वर्षयता ज्येष्ठ नागरिक जोखिमकै कारण घरबाहिर निस्कन सकेका छैनन् । घरबाहिर निस्कन चाहे पनि घरका अन्य सदस्यले उनीहरूलाई महामारीको खतराका कारण घरभित्रै बस्न बाध्य पारेका छन् । यसका कारण कतिपयका घरमा ज्येष्ठ नागरिक र घरका अन्य सदस्यबीच मनमुटावसमेत बढ्ने गरेको छ ।

बुढ्यौलीको पट्यारलाग्दो समयमा टोल छिमेकमा घुम्न र आफ्ना पीडा व्यथा पोख्न चाहने ज्येष्ठ नागरिकलाई दुई वर्षयता देखिएको कोरोना महामारीले प्रत्यक्ष प्रभावित बनाएको अधिकांशको अनुभव छ । कोरोना सङ्क्रमण भइहालेका अवस्थामा अस्पतालमा समेत अक्सिजन तथा शय्याको अभाव हुने गरेका कारण पनि ज्येष्ठ नागरिक घरघरमा थुनिएर बस्न बाध्य बन्नुपरेको छ ।

कोरोना महामारी शुरु भएयता ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमकितामा राखिएको पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले बताउनुभयो । महामारी शुरु भएयता वृद्धाश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकलाई सङ्क्रमणको जोखिम नहोस् भनेर आफूहरूले अनावश्यकरूपमा भित्र बाहिर गर्न नदिएको उहाँले बताउनुभयो ।

“पोखरा वृद्धाश्रमममा हालसम्म ज्येष्ठ नागरिकलाई कोरोना सङ्क्रमण भने भएको छैन”, उहाँले भन्नुभयो, “हामी जोखिम नभित्रियोस् भनेर अत्यन्त सचेत बनेका छौँ, सम्भाव्य जोखिमलाई दृष्टिगत गरी वृद्धाश्रमभित्रै आइसोलेसनको व्यवस्थासमेत गरिएको छ ।” पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिककको नियमित स्वास्थ्य अवस्था जाँचका लागि एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक बिरामी भइहालेका अवस्थामा अस्पताल लैजानका लागि सिद्धार्थ क्लबसँग सम्झौता गरी एम्बुलेन्सको व्यवस्था गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।

पोखरा–३२ स्थित राधाकृष्ण वृद्धाश्रम तथा शान्ति आश्रमममा पनि कोरोना महामारीलाई दृष्टिगत गर्दै सावधानी अपनाइएको छ । कोरोना महामारी शुरु भएयता आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई सङ्क्रमण नहोस् भन्ने हेतुले सजगता अपनाइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिनुभयो ।

सो वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई स्वास्थ्य समस्या भएमा स्थानीय स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी बोलाएर स्वास्थ्य परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो । स्वास्थ्यमा ठूलै समस्या आएमा अस्पताल लैजाने गरिएको जानकारी दिँदै खनालले कोरोना सङ्क्रमण भएयता यहाँ बस्ने कुनै पनि ज्येष्ठ नागरिकमा कोरोना सङ्क्रमण भने नदेखिएको बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको ज्येष्ठ नागरिक मिलन केन्द्र गत वर्ष कोरोना महामारी शुरु भएयता सञ्चालनमा आउन सकेको छैन । सङ्क्रमणको जोखिमीलाई दृष्टिगत गरी गत वर्ष कोरोना महामारी शुरु भएपछि बन्द गरिएको केन्द्र हालसम्म पनि खुल्ने अवस्था नरहेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

“कोरोना सङ्क्रमणको उच्च जोखिमममा ज्येष्ठ नागरिक रहेका कारण केन्द्र सञ्चालनमा रोक लगाएका हौँ, सङ्क्रमण हटेपछि मात्रै केन्द्र सञ्चालनमा आउने छ”, श्रेष्ठले भन्नुभयो । कोरोना सङ्क्रमणले घरघरमा रहेका ज्येष्ठ नागरिकका साथै ज्येष्ठ नागरिक आश्रम, मिलन केन्द्र सबै स्थानमा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा चासोको विषय बनेको सचिव श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...