Admission Open

असहाय बस्नेत परिवारलाई घर हस्तान्तरण 

दमक, १८ असार : दुई वर्षअघि आगाले जलेर ज्यान गुमाएकी झापा, कमल गाउँपालिका–६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । आगाले जलेर देवीबहादुर बस्नेतका २२ वर्षिया छोरी कुलमायाको मृत्यु भएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइदिएका हुन् ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि घरवारबिहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोवासको व्यवस्था गर्नका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको सामाजिक अगुवा हुकुमसिंह राईले बताउनुभयो । घर बनाउन राईसहितका मनकारी युवाहरुको समितिले सहयोग जुटाएर घर निर्माण गरिदिएको हो । एकतले जस्तापाताले छाएको पक्की घर निर्माणमा रु पाँच लाख ४५ हजार १०० खर्च भएको समितिका आर्थिक संयोजक हर्कबहादुर रायले बताउनुभयो ।
घर निर्माणमा नेपाल परिवारले १० धुर जमीन दिएका थिए भने इँटा, सिमेन्ट, रडलगायतका कच्चा सामग्री सहयोगबाट नै जुटाइएको थियो । त्यस्तै वडा कार्यालयले पनि आवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीय युवाले श्रमदान गरी सहयोग पु¥याएका थिए ।
संयोजक राईका अनुसार कुलमाया बचाउ अभियानकै बीचमा बिरामीको उपचारका लागि रु तीन लाख ८० हजार स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सो रकम समेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम रु दुई लाख १६ हजार ४६३ पीडित परिवारको जीविकोपार्जनका लागि रकम समेत प्रदान गरिएको थियो । समितिले आज त्यहाँ एक कार्यक्रम गरी बस्नेतसहित उहाँका छोरा विदुर र बुहारीलाई नवनिर्मित घरको ताल्चा र चेक हस्तान्तरण गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...