Admission Open

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ असार २४ गतेदेखि निष्काशन हुने

काठमाडौं, १६ असार : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा २४ गतेदेखि २८ गतेसम्म निष्काशन गर्नेछ ।
सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । उक्त ३० प्रतिशत मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारण समूहतर्फको ६४ करोड ५० लाख रुपैयाँमध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्टाएपछि बाँकी ५८ करोड ५ लाख सर्वसाधारण लगानीकर्ताका लागि हुनेछ। न्युनतम १० कित्ताका दरले बाँडफाँड हुँदा कम्पनीको प्राथमिक शेयर ५ लाख ८५ हजारले प्राप्त गर्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले आइपिओ निष्काशनका लागि ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्छ ।

रेटिङ एजेन्सिका अनुसार कम्पनीको ब्रान्च तथा अभिकर्ताको नेटवर्क धेरै राम्रो रहेको छ । जीवन बीमा कम्पनीहरु मध्ये बीमा शुल्क आर्जनका हिसावले कम्पनीको बजार हिस्सा ८ प्रतिशत हाराहारी रहेको छ । तर नयाँ आएका १० जीवन बीमा कम्पनीहरु मध्येको बजार हिस्सा भने २७ प्रतिशत रहेको छ ।
कम्पनीको शाखा सञ्जाल २०२ वटा रहेको छ भने सक्रिय अभिकर्ताको संख्या १४ हजार भन्दा धेरै रहेको छ भने कम्पनीबाट अभिकर्ताको काम गर्न ५० हजार भन्दा धेरैले लाइसेन्स प्राप्त गरेका छन् । कम्पनीले प्राथमिक शेयर निष्काशन पछि सोल्भेन्सी अनुपात पनि सुधार हुने रेटिङ एजेन्सीले जनाएको छ । हाल कम्पनीको नेटवर्थ दुई अर्ब ३१ करोड रुपैयाँ भन्दा माथि छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको नेटवर्थ तीन अर्ब भन्दा माथि हुनेछ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्षअगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीका प्रमुख शेयरधनीहरुमा शेखर गोल्छाको १९.९ %, साहिल अग्रवालको १९.९%, सुलभ अग्रवालको १८%, सन्दिप कुमार अग्रवालको ६.६%, शरद कुमार टिवरेवालको ६.६ % शेयर पूँजी रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...