Admission Open

रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग    

बनेपा, १ असार : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी अस्थायी अस्पताल (कोभिड अस्पताल)का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट उपलब्ध स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । निवर्तमान सङ्घीय सांसद गङ्गाबहादुर तामाङको समन्वयमा प्राप्त सामग्री अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गणेश लामालाई सोमबार हस्तान्तरण गरिएको हो ।

रोशी गाउँपालिका–१, २, ३ र ४ लाई लक्षित गरी रोशी गाउँपालिकाले सञ्चालनमा ल्याएको सो अस्पतालले नजिकको बेथानचोक गाउँपालिका–६ र नमोबुद्ध नगरपालिका–९ र ८ को तल्लो क्षेत्रका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । सङ्क्रमित बिरामी उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउन आवश्यक रहेको अवस्थामा सांसद तामाङको समन्वयमा सो स्वास्थ्य सामग्री प्राप्त भएको अस्पतालले जनाएको छ । प्राप्त सामग्रीमा अक्सिजन सिलिण्डर तीन थान, पल्स अक्सोमिटर दुई थान, एन्टिजेन किट ५० थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, थर्मलगन एक थान, सर्जिकल मास्क दुई हजार थान, डिस्पोजेवल भिजिटर ज्याकेट १०० थान, बुटसेट १० थान, पिपिइ १० थान, सर्जिकल ग्लोब्स १५० जोर, के–९९ मास्क २०० थानलगायत डिस्पोजेवल ग्लोब्स, फेसशिल्डलगायतका सामग्री छन् ।

कोभिडको सङ्क्रमण गाउँगाउँमा फैलिरहेको अवस्थामा ग्रामीण क्षेत्रमा परीक्षण दरलाई विस्तार गर्न र उपचारमा सहजता प्रदान गर्नका लागि जिल्लाको विकट र पहुँचभन्दा टाढा रहेको पालिकाले सञ्चालन गरेको अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव रहेकाले आफ्नो पहलमा ती सामग्री मन्त्रालयबाट उपलब्ध गराएको निवर्तमान सांसद तामाङले बताउनुभयो । तामाङको पलहमा यसअघि जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकास्थित धुसेनी शिवालय प्राथमिक अस्पताल र डिसीडब्लुसी अस्पतालका लागि अक्सिजन सिलिण्डर १० थानलगायत महत्वपूर्ण औषधि गाउँपालिकालाई उपलब्ध गराउनुभएको थियो ।

त्यसैगरी सो अस्पताललाई नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला कमिटीबाट आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रका नेता मिमबहादुर वाइबाको नेतृत्वमा नेकपा माओवादी केन्द्र प्रवास कमिटीबाट प्राप्त स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...