Admission Open

शरीरमा अवस्थित चक्र र तिनको महत्व

# केशव आचार्य

काठमाडौं, १३ जेठ / हाम्रो दृश्य, अदृश्य, स्थूल, सूक्ष्म, व्यक्तित्व वा अस्तित्व धेरै रहस्यमय, रोमान्टिक र पूर्ण वैज्ञानिक छ । यसलाई विस्तृत रुपमा जान्न शरीरको शक्ति केन्द्रहरू जान्नु आवश्यक छ, ती शक्ति केन्द्रहरूलाई चक्रहरू भनिन्छ । धेरैले सुनेको तर थोरैले बुझेको चक्र, के हो त चक्र भनेको ? चक्र शरीरका ऊर्जा केन्द्रहरू हुन, तिनीहरू मेरुदण्डको छेउमा सूक्ष्म शरीरमा अवस्थित छन् । मेरुदण्डको फेदबाट सुरु गरेर मस्तिष्कसम्म यी चक्र रहेका हुन्छन् । यसबाट निस्केको उर्जाले शरीरलाई जीवन शक्ति प्रदान गर्दछ । सामान्य अवस्थामा यी चक्रहरू अधोमुख भएर अविकसित अवस्थामा हुन्छन् ।

ब्राम्हाचार्य पालन, प्राणायाम र ध्यान, आदि यौगिक विधिद्वारा उत्तेजना प्राप्त गरेर जब तिनीहद्वारा माथितिर फर्कन्छन् तब तिनीहरूमा अलौकिक शक्ति विकास हुन्छ तर शरीर विधटित वा मरेपछि त्यो शक्ति स्वतस् विच्छेदन हुन्छ । यसकारणले गर्दा मरेको शरीर पोस्ट मार्टम गर्दा यी चक्रहरू देखिदैनन्, त्यसैले कोही व्यक्तिहरू सोच्दछन् कि चक्र एक कल्पना मात्रै हो । वास्तवमा त्यो सत्ते होइन ।

हाम्रो शरीरमा शक्ति केन्द्र अर्थात चक्र आठ ओटा छन् । यी आठ चक्रहरूमा अवस्थित शक्तिले सम्पूर्ण शरीरलाई सक्रिय, सन्तुलित र कार्यशील बानाउँदछ । यसैबाट शारीरिक, मानसिक विकारहरू र रोगहरू हटाएर भित्री चेतना जगाउने उपायहरूलाई योग भनिन्छ । यी चक्रहरूको सन्दर्भमा अथर्ववेदमा भनिएको छ , अष्टचक्रा नवद्दारा देवानां पुरयोध्या । तस्या हिरण्ययस् कोशस् स्वर्गो ज्योतिषवृतस् ।। अर्थात ईश्वरको शहर अयोध्या स्वरुप यस शरीरमा आठ चक्र र नौ ढोका छन् । यस शहरमा भव्य देवता हिरणमय कोश छ जुन अनन्त , आनन्द , शान्ति र भरपुर खुसीले भरिएको छ । केवल योगा चिकित्सकले यो दिव्य कोश प्राप्त गर्न सक्छन् ।

आठ चक्रका बारेमा संक्षिप्त वर्णन तल उल्लेख गरिएको छ :-

क) मूलाधार चक्रः यो चक्र मलद्वार तथा जनेन्द्रिय वीचमा मेरुदण्डको जराको तल्लो भागमा अवस्थित हुन्छ । आधार भूत शक्ति अर्थात कुण्डलिनी शक्तिको आधार भएकोले यसलाई मूलाधार चक्र भनिएको हो । यो चक्र जागरण भएमा व्यक्ति हँसिलो, उज्यालो बन्नुका साथै शरीरका सबै रोगहरू नष्ट हुन्छन् ।

ख) स्वाधिष्ठान चक्र : यो चक्र जनेन्द्रिय ठीक पछाडि मूलाधार चक्र भन्दा दुई औँला माथि हुन्छ । यो चक्र यौन र रचनात्म उर्जाका लागि जिम्मेवार छ । यसले तपार्इँका भावनाहरू र अरूको भावनालाई जोड्ने काम गर्नुका साथै मानव शरीर भित्र रहेको पानी तत्वलाई प्रतिनिधित्व गर्छ ।

ग) मनिपूर चक्र : यो चक्र पेटमा अवस्थित हुन्छ । यसले सम्पूर्ण पाचनक्रिया नियन्त्रण गर्छ । यो चक्र आत्मविश्वास र आत्मसम्मानका लागि जिम्मेवार छ साथै तपाईँलाई आफ्नो जीवनको नियन्त्रणमा महशुस गर्न मद्दत गर्दछ ।

घ) अनाहाचक्र : यो चक्र छातीको वीचमा मुटुको छेउमा अवस्थित हुन्छ । अनाहाचक्र हाम्रो प्रेम र दया देखाउने क्षमतासँग सम्बन्धित छ । त्यस्तै यसले मुटुको, फोक्सोको रक्त संचार प्रतिरोधक क्षमता नियन्त्रण गर्छ ।

ङ) विशुद्धि चक्र : यो चक्र घाँटीमा अवस्थित हुन्छ । यो चक्रले कुराकानी गर्ने क्षमता, शरीर बृद्दी, भोक, तीर्खा वा प्यास आदिको नियन्त्रण गर्छ । बोली राम्रो हुनु, सुमुधुर स्वर निस्किनु यही चक्र सक्रिय भएर हुने हो ।

छ) आज्ञा चक्र : यो चक्र दुई आँखाकोवीचमा अवस्थित हुन्छ । यो चक्र ले मस्तिष्क तथा मस्तिष्कका सम्पूर्ण कार्य, एकाग्रता, इच्छा शक्ति, सोच्ने शक्तिको नियन्त्रण गर्छ । यो चक्र भौतिक ज्ञान तथा अष्टविद्याको केन्द्र पनि हो ।

ज) मनश्चक्र वा विन्दुचक्र : यो चक्र हाइपोथेलेमसमा अवस्थित हुन्छ । यसको कार्य भनेको मुटुसँगको सम्बन्ध बनाउनु, त्यस्तै दिमाग र भावनाहरू अनुसार विचार, संस्कार र मस्तिष्कीय स्वाभावहरू, लवण आदिको निर्माण गर्नु हो । यसलाई मन वा भावनाको स्थान पनि भन्न सक्छौँ ।

झ) सहस्रार चक्र : यो चक्र सबैभन्दा माथि अर्थात तालुको माथि अवस्थित हुन्छ । यहाँ सबै प्रकारका आध्यात्मिक शक्तिहरू प्राप्त हुन्छन् । यो दिमाग र ज्ञानसँग सम्बन्धित छ । यो चक्र आध्यमत्मिक विद्याको केन्द्र पनि हो ।

प्रत्येक चक्र हाम्रो अस्वित्वको विशिष्ट आध्यात्मिक, भावनात्मक, मनोवैज्ञानिक र शारीरिक पक्षहरूसँग सम्बन्धित छन् । त्यसैले यो भनिन्छ कि चक्रहरूको अवरोध वा खरावीले भयो भने मानिसका शारीरिक, मानसिक र भावनात्मक आदि कुरामा समेत अवरोध आउन सक्छ ।

(लेखक : पतञ्जली योग समिति नेपालका सह-योग प्रशिक्षक हुनुहुन्छ।)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...