Admission Open

आरोग्य सेवा केन्द्रमा सेवाग्राही वृद्धि

टिस्टुङ, १० जेठ/ कोरोना सङ्क्रमण तीव्र भइरहेको बेला मकवानपुरका नागरिक आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरु बढ्दै गएका छन् । यसै वर्षदेखि सञ्चालनमा आएको मकवानपुरको चारवटै आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या बढ्दै गएको नारायणी अञ्चल आयुर्वेदिक औषधालय चिकित्सक सृष्टि श्रेष्ठले बताउनुभयो ।

मकवानपुरमा अञ्चल आयुर्वेद औषधालयमातहत थाहा नगरपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्दा अन्य नकारात्मक असरहरु नपर्ने र कोरोनासँग जुध्न आयुर्वेदिक औषधिको उपयोग महत्वपूर्ण हुने थाहा पाएर आरोग्य केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या बढ्दै गएको चिकित्सक श्रेष्ठले बताउनुभयो ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी हुने विश्वासले आयुर्वेदप्रति आकर्षण बढेको औषधालयका सूचना अधिकारी वैकुण्ठ आचार्यले बताउनुभयो । गत वर्ष सात हजार ९९० जनाले आयुर्वेद औषधालयबाट उपचार तथा परामर्श लिएका थिए । यस वर्ष स्थानीय तहहरुमा समेत आरोग्य केन्द्रहरु सञ्चालनमा आएको र कोरोनाको सङ्क्रमण दर पनि उच्च भइरहेकाले सेवाग्राहीहरुको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

नागरिक आरोग्य सेवा केन्द्रहरुमा एक कविराजसहित तीन कर्मचारीको व्यवस्था गरिएको छ । कविराजहरुले कोरोनासँग जुध्न अश्वगन्धा, गुर्जो, मधु र चिथोपल्लाजी चूर्णको प्रयोग गर्न सुझाउनुका साथै अन्य आवश्यक परामर्श दिने गरेका छन् । आरोग्य सेवा केन्द्रमा दैनिक परीक्षण तथा आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण गर्नुका साथै योग अभ्याससम्बन्धी जानकारी दिने गरिएको छ । त्यसैगरी स्थानीयस्तरमा पाइने जडीबुटीको उपयोग तथा प्रयोग विधिबारे जानकारी दिने गरेको चिकित्सक श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...