Admission Open

बैतडीको समस्या : सङ्क्रमितहरू संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

बैतडी: भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरूमा जस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलदै गएको छ । यसरी सङ्क्रमितहरू दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको प्रबन्ध मिलाउने सम्बन्धित निकायको तयारी भने त्यति प्रभावकारी छैन ।
समुदायस्तरमै सङ्क्रमण फैलदै गएको देखिएको छ । हालसालै बाहिर घुम्न कतै नगएका र घरैमा बसिरहेका व्यक्तिमा पनि सङ्क्रमण पुष्टि हुन थालेको स्वास्थ्य अधिकारीहरु बताउँछन् । यसकारण पनि यस जिल्लामा सङ्क्रमण समुदायस्तरमै पुगेको बताइएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये पनि ९० प्रतिशत भन्दा बढी नागरिक घरमै बसेका छन् । होम आइसोलशनमा बस्ने भन्दै घरमा बसिरहेका सङ्क्रमितले सतर्कता नअपनाउँदा पनि समुदायमा सङ्क्रमण फैलिएको स्वाथ्यकर्मीहरुले बताउने गरेका छन् ।
याहाँको अर्को समस्या के छ भने स्थानीय तहहरुले संस्थागत आइसोलेशन स्थापना गरेका भएपनि सङ्क्रमितहरु त्यहाँ बस्न मान्दैनन् । उनीहरु यसरी संस्थागत आइसोलेशनमा बस्न नमान्दा झनै समस्या भएको स्वास्थ्य अधिकारीहरुको बुझाई छ । यसरी निर्माण गरिएका आइसोलेसन रित्तै छन्, तर सङ्क्रमित भने घरघरमै छन् ।
उता जिल्ला अस्पतालमा अक्सिजन अभावका कारण सङ्क्रमितले ज्यान गुमाएका छन् । अक्सिजन प्लान्ट स्थापनाको तयारी भएपनि अझै केही महिना लाग्ने भएको बताइएको छ । जटिल खालका सङ्क्रमित बढिरहेका भएपनि जनशक्ति अभावको कारण देखाउदै सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेको भेन्टिलेटर मेसिन सञ्चालन नहुँदै फिर्ता मागेको छ ।
जिल्लामा हाल छ सय ४७ कोरोना सक्रिय सङ्क्रमित रहेका छन् भने नौ जनाको मृत्यु भएको छ । जिल्लाका १८ स्थानमा निर्माण गरिएको आइसोलेशनमा हाल एक सय १५ जना मात्रै बसेका छन् भने अरु सबै घरमै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
सीमा नाका झुलाघाटबाट स्वदेश फर्किने नागरिकको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन पोजेटिभ आएकालाई आइसोलेशनमा राख्ने गरिएको छ भने नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ ।
कोरोना सङ्क्रमितहरु पनि अधिकांश घरमै रहेकाले पनि कोरोना सङ्क्रमण झन् तीव्र रुपमा फैलिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितहरु संस्थागत आइसोलेशनमा बस्न नमान्दा सङ्क्रमणको दर बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । स्थानीय तहहरुले आइसोलेशन निर्माण गर्न ढिलाई गरेका छन् उहाँले भन्नुभयो, “निर्माण गरिएका आइसोलेशनमा पनि सङ्क्रमित नबस्दा जोखिम बढाएको छ । उता घरमा बसेका सङ्क्रमितले पनि होम आइसोलेशनको नियम पालना नगर्दा घरपरिवार र गाउँघरमा सङ्क्रमण बढेको देखिएको छ ।”
बैतडीमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै हाल छ सय ४७ कोरोनाका सक्रिय सङ्क्रमित देखिइसकेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये हाल एक सय १५ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् र अन्य सबै होम आइसोलेशन तथा घरमै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्थानीय तहहरुले आइसोलेसन निर्माण गर्न शुरु गरेका भएपनि आइसोलेशनमा बस्ने सङ्क्रमितको सङ्ख्या भने न्यून रहेको छ । स्थानीय तहले त्यहाँ बस्ने सङ्क्रमितको व्यवस्थापनमा चासो नदिँदा बस्न नमान्ने गरेका प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहहरुले आइसोलेशन मात्रै निर्माण गरे त्यहाँ बस्ने सङ्क्रमितको बसाई तथा खानपिनको व्यवस्थामा ध्यान दिएका छैनन्, यसकारण पनि सङ्क्रमितहरु बस्न मानिरहेका छैनन् ।”
स्थानीय तहहरुले अनिवार्य रुपमा सङ्क्रमितलाई संस्थागत आइसोलेशनमा बस्ने व्यवस्था गर्नुपर्नेमा उहाँको जोड रहेको छ । सङ्क्रमितलाई संस्थागत आइसोलेशनमा राख्न स्थानीय सरकारले चासो दिनुपर्ने उहाँको सुझाव छ ।
कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिइसकेको बताउँदै शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले संक्रमित अझै पनि आइसोलेशनमा बस्न नमान्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “घरमा सङ्क्रमितलाई आइसोलेशनमा राखे पनि भागेर घरमै जाने गरेका छन्” उहाँले थप्नुभयो, “सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरौँ भन्दा पनि मान्दैनन्, समुदायस्तरमा कोरोनाकै लक्षण देखिने गरी धेरै बिरामी छन् ।”

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले पनि संस्थागत आइसोलेशनमा बस्न नमान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “होम आइसोलसन बस्छौँ भन्दै जान्छन् तर उनीहरुले स्वास्थ्यका मापदण्ड अपनाएका छैनन्, उनीहरुकै कारण सङ्क्रमण झन् फैलदै गएको छ । ”
यसका साथै निषेधाज्ञा पूर्ण पालना नगर्दा पनि सङ्क्रमण बढेको महराको भनाई छ । उहाँले भन्नुभयो, “निषेधाज्ञाको पूर्ण पालना भएन, जनस्वास्थ्य मापदण्ड पालना नगरिँदा सङ्क्रमण फैलिदं गएको देखिन्छ ।”
भारतबाट फर्किएकाहरु सीधै घरमा बस्दा पनि सङ्क्रमणको जोखिम बढेको स्थानीय बासिन्दाको भनाई छ । भारतबाट आएकाहरु गाउँघरमै घुमिरहेकाले उनीहरुबाट पनि सङ्क्रमण फैलने डर भएको दोगडाकेदारका गणेश विष्टको भनाई छ ।
बैतडीमा अक्सिजनको पनि चरम अभाव भएको छ । कोरोना सङ्क्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ तर अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ ।
अस्पतालमा १९ ओटा मात्रै सिलिण्डर रहेका र ती सिलिण्डर सङ्क्रमितको उपचारका लागि निकै कम भएको जनाइएको छ । अस्पतालमा रहेका सिलिण्डरले मात्रै सङ्क्रमितको उपचारका लागि निकै समस्या हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । अस्पतालमा रहेका १९ सिलिण्डरमध्ये पनि आठओटा भर्नका लागि धनगढी पठाइएको भएपनि त्यहाँ रहेको ग्याँस उद्योग बिग्रिदा झनै समस्या भएको छ । डाक्टर जोशीले भन्नुभयोे, “अस्पतालमा सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन्, थप सङ्क्रमितलाई भर्ना गर्न सकिने अवस्था छैन ।”
अक्सिजन अभावकै कारणले जिल्ला अस्पतालमा आउने बिरामीलाई अन्यत्रै रेफर गर्नुपर्न अवस्था रहेको छ । अस्पतालमा हाल १४ जना कोरोनाका जटिल खालका बिरामी भर्ना भएका छन् । उनीहरु सबैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई अब भर्ना गर्न नसकिने र रेफर गर्नुको विकल्प नभएको डाक्टर जोशीले बताउनुभयो । अक्सिजन कतैबाट आपूर्ती भइरकेको छैन । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परिरहेको छ ।” कसैसँग अक्सिजनका सिलिण्डर भए अस्पताललाई दिन आग्रह पनि गर्नुभएको छ ।
उता सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि रु ८० लाख बजेट उपलब्ध गराएको भएपनि प्लान्ट स्थापनामा ढिलाई हुने भएको छ । टेण्डर प्रक्रियाबाट प्लान्ट स्थापना हुने भएकोले स्थापनामा ढिलाई हुने देखिएको हो ।
प्लान्ट स्थापनाका लागि बजेट आएको भएपनि सञ्चालनमा आउन अरु दुई महिना लाग्नसक्ने डाक्टर जोशीले बताउनुभयो ।
अक्सिजनको चरम अभाव भइरहेको बेला प्लान्ट स्थापना गर्न ढिलाइ गर्न नहुने सरोकार हुनेहरुको जोड रहेको छ ।
बैतडीमा कोरोना सङ्क्रमितहरु बढ्दै गइरहेका बेला जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेर मेसिन फिर्ता हुने भएको छ । दक्ष जनशक्ति अभाव रहेकोले जडान गरिएको भन्टिलेटर मेसिन सुदूरपश्चिम प्रदेश सरकारले फिर्ता मागेको हो ।
गत मङ्सिरमा प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जडान गरिएको भेन्टिलेटर मेसिन दक्ष जनशक्तिको अभावमा हालसम्म पनि सञ्चालनमा आउन सकेको थिएन् ।
प्रदेश सरकारको आग्रहमा भेन्टिलेटर मेसिन फिर्ता गर्न लागेका जिल्ला अस्पताल बैतडीका प्रमुख डा।वसन्तराज जोशीले जानकारी दिनुभयोख। उहाँले भन्नुभयो,“दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा नआएकाले प्रदेश सरकारको आग्रहमा दक्ष जनशक्ति भएका ठाउँमा भेन्टिलेटर मेसिन फिर्ता गर्दैछौं, हाम्रो अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति छैनन् । त्यसैैले जनशक्ति भएका ठाउँका लागि मेसिन फिर्ता पठाउँदैछौं ।”
नेपाली काँग्रेस बैतडीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर भेन्टिलेटर मेसिनको लागि आवश्यक पर्ने जनशक्ति थप्नुपर्ने तथा उक्त मेसिन फिर्ता नमाग्न आग्रह गरेको छ । काँग्रेस उपसभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा महामारीको बेला पनि सरकारले जनताका समस्या बुझ्न नसकेको आरोप लगाइएको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि बैतडीका स्थानीय तहहरुले यसको रोकथाम तथा नियन्त्रणको तयारी थालेका छन् । यहाँका स्थानीय तहहरुले आइसोलेशन निर्माणको कामलाई तीव्रता दिएका छन् ।
जिल्लाका १० ओटै स्थानीय तहमा हालसम्म १८ स्थानमा आइसोलेशन सेन्टर स्थापना भइसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भइसकेको छ भने जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना सङ्क्रमितहरुलाई राख्नका लागि आइसोलेशन सेन्टर सञ्चालनमा आएका हुन् । स्वास्थ्य प्रमुुख भट्टले भन्नुभयो,“ जिल्लाका १८ ठाउँमा दुई सय ५६ शय्याका आइसोलेशन सेन्टर तयार भएका छन्, आइसोलेशन निर्माण गरिएका भएपनि बस्ने सङ्क्रमित सङ्ख्या न्यून छ ।”
यस्तै यहाँका स्थानीय तहहरुले आफूसँग रहेका सवारी साधनहरुलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।
नगरपालिकासँग रहेको एम्बुलेन्स गत वर्ष दुर्घटनामा परेको र मर्मत नहुने भएपछि नगरपालिकाले नयाँ एम्बुलेन्स खरिदको प्रक्रिया पनि अघि बढाएको जनाएको छ
कोरोना महामारीका बेला नगरबासीलाई समस्या नहोस भनेर तत्कालका लागि दुईओटा जिप भाडामा लिएको छ ।
दोगडाकेदार गाउँपालिकाले यसअघि सङ्क्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो । महामारीले भयावह रुप लिँदै गएकोे भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई सङ्क्रमित बोक्नका लागि प्रयोग गर्ने निर्णय गरेको हो ।
यसैबीच बैतडीमा रहेका ११ ओटा एम्बुलेन्सलाई भने तयारी अवस्थामा राखिएको छ । कोरोना सङ्क्रमित तथा शङ्कास्पद बिरामीलाई अस्पताल तथा आइसोलेशन केन्द्रमा पु¥याउन जिल्लाका ११ एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
यहाँका स्थानीय तह, जिल्ला अस्पताल र शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको समेत गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको हो ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जेठ २ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।
निषेधाज्ञाको अवधिभर अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले अनुरोध गर्नुभएको छ ।
साथै खाद्यान्न, फलफूल तथा तरकारीका पसल बिहान ७ देखि १० बजेसम्म खुल्ला गर्न, भिडभाड हुने खालका कुनै पनि गतिविधि नगर्न र अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालन गर्न सबै जिल्लाबासीलाई आग्रह गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...