Admission Open

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुनःनियुक्त

प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ

पोखरा, २९ वैशाख : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त हुनु भएको छ । पुनःनियुक्त गुरुङले प्रदेश प्रमुख सीता पौडेलसँग बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनु भएको हो । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारको मुख्यमन्त्रीमा गुरुङलाई पुनःनियुक्त गर्नुभएको हो ।

गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।

यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...