Admission Open

नेपाल–भारत : हिन्दु सांस्कृतिक परम्पराका उद्गमस्थल

विचार

# दीर्घराज प्रसाई

पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गङ्गासम्मको भूभागलाई नैं ‘हिमवत्खण्ड’ र गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । संसारमा हिन्दु अस्मिता बोकेका राष्ट्रहरुमा खास गरेर ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु–दर्शन, संस्कृति र सभ्यताको विस्तार भएको हो । प्राचीन समयदेखि हिमवतखण्ड नेपाल तथा भारतको सभ्यतालाई विश्वले ठूलो महत्व राख्दै आएको छ । हिमवतखण्ड नेपाल तथा भारतवीचमा युगौंयुगदेखि गहन तादात्म्यता कायम छ । इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नु भएको छ, ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दु हो ।’ वैदिक हिन्दु नीति र सिद्धान्तलाई विश्वका अनेकौं देशहरूमा पु¥याएर विश्व मानव परिवारलाई सभ्य बनाउनमा ऋषि महर्षिहरूबाट अनेकौं योगदानहरू भएका थिए ।

वैदिक–हिन्दुसभ्यता विस्तार गर्ने क्रममा ऋषिहरू भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔँ । त्यसरी यस क्षेत्रका अनेकौँ ऋषिहरूबाट संसारको सभ्यतामा मानवीयताबाट सिंचित भएको हो । यसउसले सभ्यताको विकास र बिस्तारबाट नेपाल–भारत हिन्दुहरुको लागि पवित्र पुण्यभूमि मानिन्छ । तर लगभग हजार वर्षसम्मको मुसलमानी र अंग्रेज सम्राज्यवादीहरूको अतिक्रमणका कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो । तथापि भारतका स्वाभिमानी हिन्दुहरूले आफ्नो अस्मिता र सभ्यता बचाउन मुसलमानी आक्रमणसँग मुकाविला गरिरहे ।

भारतमा अंग्रेजहरूबाट हिन्दु अस्मितामाथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन । गोर्खाका राजा पृथ्वीनारायण शाहबाट विक्रम संवत् १८०० मा बनारसको भ्रमण गरेको अवस्थामा कासीमा अवस्थित विश्वनाथको मन्दिरलाई मुसलमान सम्राट औरङ्गजेबबाट भत्काएको बेलादेखि नैं भग्नावशेषको रुपमा नैं रहेको थियो । मुसलमानको सम्राजपछि भारतमा अंग्रेजी साम्राज्य स्थापित भएको अवस्था थियो । त्यसबेलामा भारतका हिन्दुहरू माथि इसाईहरूले आक्रमण गरेको दयनीय अवस्था देख्दा पृथ्वीनारायण शाहबाट हिमवत्खण्ड क्षेत्रको हिन्दु तथा बौद्ध अस्मिता बचाउन आवश्यकता महशुस् गरेर बनारसबाटै हतियार बनाउने मुसलमान कालिगडहरू साथमा लिएर ठूलो हिम्मत र आँटकासाथ गोर्खा फर्केका थिए । भारतमा मुसलमानहरूले हिन्दु पहिचान समाप्त गर्नमा अनेकौं काण्डहरू मच्चाए तापनि राजा पृथ्वीनारायणले मुसलमानसँग मिलेर हिन्दु अस्मिता बचाउने जुन योगदान भयो यसको परिणाम अहिलेसम्म नेपालमा हिन्दु तथा मुसलमानबीच कुनै बैमनष्यता देखा पर्ने गरेको छैन । धार्मिक सहअस्तित्वको भावना हिन्दु र मुसलमानको वीचमा कायम हुनु यो एउटा ठूलो उदाहरण हो । तर गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना टुक्राहरूमा विभाजित हिमवतखण्डका राज्यहरुको एकिकरण गरेर समयमैं विश्वभरमा हिन्दुहरूको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर राख्ने काम गरे । यसउसले यो भूमि बिटुलो भएन ।

यही हिसाबले भारतले हिमवत्खण्ड नेपाललाई ठूलो महत्व दिँदैआएको हो । नेपाल र भारतवीचको सांस्कृतिक एकतालाई निरन्तरता दिने क्रममा नेपालका राजा र दुबै देशका जनताबाट लिच्छविकालदेखिनैं मलजल गर्ने कार्य हुँदै आएको छ । भारतका अनेकौं धामहरू–रामेश्वर, जगन्नाथ, बद्रीनाथ, केदारनाथ, कामाक्ष कामरुप आदिमा नेपालका राजाहरूको विशेषाधिकार रहिआएको भन्ने कुरा ‘…माई कामाक्ष शरणकरे …स्वर्गेस वंशउद्भवः भूपनिर्मित मन्दिरमिदम्’ बाट प्रष्ट हुन्छ । आसामको कामाक्ष कामरुपमा श्री ५ गिर्वाणयुद्ध विक्रम शाहको पालामा शिलालेख राखी लालमोहोरिया पण्डा खडा गरी १२ गाउँ बिर्ता दिई लालमोहोर गरी दिएको थियो । मनुले विध्य र हिमालको वीचको भागलाई आर्यवर्त मान्नुका साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रह्मार्षि देशमा गणना गरेका छन् । जर्मनका विद्वान भोल्टेयरले भनेका थिए–हिन्दुशास्त्र पश्चिमी जगतका लागि पूर्वीय जगतको सबैभन्दा अमुल्य उपहार हो ।’ वेलायतका विद्वान जर्ज वर्नाड सा ले भनेका थिए– ‘हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म बन्नगएको छ ।’

पच्चिस सय वर्षअगाडि इरानको फारसी पोलिसनगरमा ईशाभन्दा ४८६ वर्ष पूरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस् दुबै उल्लेख छ भन्ने कुरा ‘इनसाइक्लोपिडिया अफ रिलिजन्स एण्ड एथिक्स’ मा उल्लेख भएको र इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा व्यास ऋषिको वाक्यलाई उद्धृत गर्दै– ’म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हँु” भन्ने कुरा उल्लेख छ । यसबाट यो स्पष्ट हुन्छ कि हिन्दूत्वको महिमा पच्चिससय वर्षअगाडिदेखि विश्वका विभिन्न देशहरूमा फैलिईसकेको थियो । इतिहासमा उल्लेख छ–इशापूर्व ३०० अगाडि चन्द्रगुप्त मौर्यको शासनकालमा मेगस्थनीज तथा फाइहानका यात्रा वृतान्तमा उल्लेख छ– ‘हिन्दुरुको लामो जीउ, लामो आयु, निरोगी, नसा नखाने, सरलस्वभाव, प्रतिभाशाली, झुट्टो नबोल्ने, लेनदेनमा साक्षी नराख्ने, आफ्नो घरमा ताल्चासम्म नलाउने, चोरी भन्ने कहीं सुनेनौं’ भन्ने कुराले हिन्दुधर्म कति पूरानो र परिस्कृत छ भन्ने कुराको बोध हुन्छ । किराँतकालमा गौतमबुद्ध जन्मिएको ठाउँ पत्ता लगाएर भारतवर्षबाट राजा अशोक नेपाल आएर–‘यहाँ भगवान जन्मिएका थिए’ भनेर ठूलो ढुङ्गाको स्तम्भ खडा गरेको कुरा लुम्बिनीको अशोकस्तम्भले बताउँछ ।

प्राचीन समयदेखि हिमवत्खण्ड नेपालको महत्वलाई दक्षिणका देशहरू (अहिलेको भारत) ले ठूलो महत्व राख्दै आएको छ । हिमवत्खण्ड पुस्तकको ७१ अध्यायको श्लोक १६ मा उल्लेख छ– मार्कण्डेय, अशोस्थामा, वली, व्यास, हनुमान, कृप, प्रशुराम र विभूषणले यही तपस्या गरेर चिरञ्जीवी भएका हुन् । पशुपत क्षेत्रको महत्व बुझेर मरिची, अंगिरा, पुलह, भृगु र अत्री जस्ता ऋृषिहरू र प्रह्लादजस्ता भक्त यही रहेर अष्टमूर्ति महेशको पूजा गर्छन्’ भनेर उल्लेख छ । भारविले यस क्षेत्रलाईनैं केन्द्रित गरेर ‘किराँतार्जुनीयम्’ महाकाव्य लेखेको कुरालाई पनि यहाँको सभ्यताको विकासमा स्रोतको रुपमा लिइन्छ । अर्जुनले धनुर्विद्याको विशेष ज्ञान किराँत प्रदेशमैं प्राप्त गरेको कुरा महाभारतमा उल्लेख छ । महाभारतमा– ‘नेपाल विषय राजन्’ भनेको कुरा उल्लेख छ । ‘मूल सर्वस्तीवाद विनय संग्रह’ बौद्ध ग्रन्थ र नेपाल माहात्म्य जस्ता ग्रन्थहरुले यस क्षेत्रको पौराणिक अवस्था कस्तो थियो भन्ने कुराहरूको चित्रण गरेको पाइन्छ ।

पशुपति, गुहेश्वरी, स्वयम्भु, वोैद्ध आदि जस्ता तीर्थस्थलहरूबाट हिन्दु र बौद्धमार्गीहरू वीचमा समन्वयात्मक बाटो स्थापित हुन गएको कुरालाई चिनिया यात्री हुयाङसाङले उल्लेख गर्दै हिन्दु मन्दिरहरू र बौद्ध संघहरु साथसाथ बनेका र यिनको एकात्म्य भएको कुरा आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका थिए । तर नेपाल तथा भारतमा पश्चिमाहरूले यहाँको सांस्कृतिक पहिचान र मान्यतामाथि धावा बोल्दै आएका हुनाले हिन्दु तथा बौद्धहरू असन्तुष्ट छन् । क्रिस्चियनहरूले आफ्नो उद्गम कहाँबाट भएको हो, हामी को हौँ ? बुझ्न चाहेर अरूहरूको धार्मिक पहिचान तथा उद्गमका बारेमा अध्ययन गरेर हिमवत्खण्डको पहिचान र यहाँका सम्पत्तिको रुपमा पूजनीय हिन्दु अस्मिताको सम्मान गर्नसक्नु पर्दछ । वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्काको सम्मान गर्छाैं । मुस्लिम, क्रिस्चियन धर्महरू हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरू हुन् ।

क्रिस्चियन होस् वा मुस्लिम् हिन्दु र बौद्धहरू अत्यन्त उदार भएर आदर गर्छन् । तर हिन्दु र बौद्धको आधिकारिक थलोमा आएर यहाँको धर्ममाथि नैं आक्रमण गर्ने र धर्म परिवर्तन गराउन इसार्इृहरूको चासो बढ्दो रहेकोमा नेपालका हिन्दुहरू असहिष्णु बनेका हुन् । नेपालमा मुसलमानहरूप्रति हिन्दु र बौद्धको कुनै चित्त दुःखाइ छैन । किनकि मुसलमानहरू आफ्नो धर्म मान्छन् र नेपालका हिन्दु तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौं । तर भारतमा ठीक त्यसको उल्टो छ । भारतमा मुसलमान सम्राज्यले हिन्दुहरू माथि अनावश्यक आक्रमण र अपदस्त गर्न खोजेकोले भारतमा हिन्दु र मुसलमानका बीचमा सँधै झगडा छ । एकले अर्काको अस्तित्वको कदर गर्दैनन् । तर क्रिस्चियनहरूप्रति नेपालमा हिन्दुहरू सशंकित र आक्रोशित छन् । क्रिस्चियनहरू नेपालको पहिचानलाई ध्वस्त बनाउन चहन्छन् । सन् १७६८ भन्दा अगाडि नेपालका मल्ल राजाहरूलाई प्रभाव पारेर केही नेपालीलाई क्रिस्चियन बनाइएको र पछि सन् १७६८ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरूलाई यहाँबाट लखेटेकाले क्रिस्चियनहरू हिन्दु तथा नेपालका पहिचानहरूप्रति नकारात्मक बनेका हुन् । तर क्रिस्चियनहरूले त्यसरी नेपाललाई नहेर नेपालको प्राचीनता, सार्वभौमिकता र महानतालाई चिन्नसक्नु पर्दछ । पहिला नेपाल अहिलेको भन्दा ठूलो थियो । हिमवत्खण्ड नेपाल विभिन्न टुक्रामा विभाजित हुँदैआएको अवस्थामा चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा–‘कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ र गडवाल क्षेत्र सबै)को वीचको देशलाई ‘नेपाल’ भनी लेखिएको छ । यसक्षेत्रको संरक्षणको पे्ररणास्रोत पृथ्वीनारायण शाह हुन पुगे । गोरखा एउटा राज्य थियो । यसक्षेत्रका ससाना हिन्दु–राज्यहरूको एकीकरण गरेर पृथ्वीनारायण शाहबाट ‘नेपालअधिराज्य’को सिर्जना गरेर यसक्षेत्रको अस्मिता जोगाउने काम गरे । पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले प्रशंसा गरेका थिए–‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि…चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन ह¥न्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् ।’ दुईसय पचास वर्षअगाडि यसरी उल्लेखित वाक्यहरुको मनन् गरियो भने पनि नेपालको सही परिचय प्राप्त हुन्छ ।

फलतः विश्वमा हिन्दु तथा बौद्धको पहिचान चिरस्थायी बनाई राख्न नेपाल–भारत दुबै देशका धाम, मठ, मन्दिर, गुम्बाहरुको संरक्षण गर्न दुबै देशले खास योजना बनाएर यो क्षेत्रको सांस्कृतिक पहिचान बचाएर विश्वभर यो क्षेत्रको महत्व बुझाउन सक्नु अत्यावश्यक छ । यसका लागि नेपाल र भारतवीचमा उच्चस्तरीय संयुक्त धार्मिक–सांस्कृतिक समिति गठन गरिनुपर्छ । यसक्षेत्रका सास्कृतिक मान्यताहरू वीच सौहार्दता कायम गर्न दुबै राष्ट्रका राजदूताबासमा उच्चस्तरीय नियोगको व्यवस्था गरेर दुबै राष्ट्रका धार्मिक स्थल् धाम, मंन्दिर, पीठ तथा गुम्बाहरूमा तीर्थयात्रीहरू र पर्यटकहरूको आवतजावतमा सुव्यवस्था कायम गर्न धार्मिक सुव्यवस्थापन समितिहरू गठन गरी विश्वभरका ॐकार हिन्दु परिवारको तीर्थयात्रामा सुरक्षा, आवास, खानपिनको सुव्यवस्था गरी त्यस्ता धार्मिक क्षेत्रको अस्मितालाई अरू सुदृढ राख्न सक्नुपर्ने आवश्यकता छ । यसोभएमा नेपाल तथा भारतवीचमा उठ्नजाने आपसी गलत फहमीहरू परास्त गर्न पनि सजिलो हुन जान्छ ।

email: dirgharajprasai@gmail.com

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...