Admission Open

‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था जिल्ला प्रशासनमा दर्ता

काठमाडौँ : धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवत्रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ । यसअघि एउटै कुरा तीन/चार जना गुरुहरुलाई सोध्दा अलग–अलग जवाफ आउने गरेकाले मेचीदेखि महाकाली मात्र नभई विश्वभरि नै धर्मशास्त्रका विषयमा यथार्थ उत्तर दिन संस्था स्थापना गरिएको हो । हिन्दू जागरण नेपालको विशेष पहलमा विद्वत्जनको आधिकारिक समिति गठन गरेर यसअघि नै पाँचदिने अन्त्येष्टि कुसंस्कार फैलाउने र नक्कली शङ्कराचार्य घोषणाविरुद्ध एवं गुरुशुक्रास्तसम्बन्धी वास्तविक जानकारी दिइएको थियो ।

धर्मशास्त्रका विषयमा फैलाइएका भ्रम हटाउन परिषद् सफल भएकाले गत चैत ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् दर्ता गरिएको हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिनुभयो ।
परिषद्मा आबद्ध हुन नेपालका सबै विशिष्ट विद्वान्लाई आह्वान गरिएको छ । यसका लागि विद्वत्वर्गसँग समन्वय र सम्पर्क गरिने जनाइएको छ । यसबाट सनातन धर्मसम्बन्धी र धर्मशास्त्र आदि विषयको जिज्ञासा उठेमा सम्बन्धित विभागको छलफलद्वारा आधिकारिक निर्णय बाहिर ल्याउने प्रयास गरिने परिषद्ले जनाएको छ ।

परिषद्ले आवश्यकतानुसार विधर्मी वा विपक्षीसँग शास्त्रार्थ पनि गर्ने वातावरण तयार पार्ने जनाइएको छ । ‘वादे वादे जायते तत्वबोध’ भनेझैँ परिषद्ले धर्मशास्त्रसम्बन्धी कुनै पनि विषयको निर्णय विद्वान्का बीच शास्त्रार्थ गरेर नै गरिने लक्ष्य राखेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...