Admission Open

नयाँ हाकिम

लघुकथा

# उमेशप्रसाद रेग्मी

त्यो कार्यालय सधैँ जस्तो थिएन ।

दस बज्नु अगावै कर्मचारीहरुको चहलपहल बढ्न थालिसकेको थियो ।

अरु दिन नियमित कार्यालयमा रहने भनेकोे एक पियन मात्र हुन्थे । विहान ढोका खोलेपछि र बेलुका ५ बजे ढोका बन्द गरेपछि मात्र उनले जान पाउँथे ।

अरु कर्मचारी भने ११ बज्दासम्म पनि आइपुग्दैन थिए ।
कार्यालय वरपर सरसफाइ भएको थियो । धुपीका बोट काटेर मिलाइएको थियो । सबै कर्मचारीहरु ह्तारमा थिए । हाजीर गर्नका लागि ।

सवारीचालकहरु आआफ्ना सवारी साधन सरसफाई गर्न ब्यस्त थिए ।
नजिकै रहेको भानुभक्त र सरस्वतीको सालिक सरसफाई गरिएको थियो ।
कोही भन्दै थिए, ‘घडा सफा गर, फुलको गुच्छा तयार पार’ ।
आज कसैको हातमा मोबाइल फोनको घण्टी बजेको थिएन । नत्र भने हरेकका हातमा रहेका मोबाइल फोन कि त फेसबुक, कि त गेममा व्यस्त रहन्थे ।
आज सबै आआफ्नै कार्यस्थलमा काम गरिरहेको जस्तो देखिन्थ्यो ।
मैले एक जना कर्मचारी समक्ष आफ्नो जिज्ञासा राखेँ । उहाँले हतार हतारमा भन्नु भयो, आज नयाँ कार्यालय प्रमुख आउँदै हुनुहुन्छ । उहाँको स्वागतमा यो सबै तयारी हुँदै छ । हेर्दा हेर्दै नयाँ कार्यालय प्रमुख पनि आइपुग्नु भयो ठीक ११ बजे । सबै लामबद्ध कर्मचारीले नयाँ कार्यालय प्रमुखलाई धनुष्टङ्कार भएर नमस्कार गरे । चिनापर्ची गरे ।
दुई तीन हप्तापछि कामको शिलसिलामा म पुनः त्यही कार्यालयमा पुगेँ । त्यहाँ सबै पहिले जस्तै अस्तव्यस्त भै सकेको थियो । सवारी चालकहरु निन्द्रामा मग्न थिए । फुल र धुपीका हाँगा अस्तव्यस्त भै सकेका थिए । बगैचाले पानी माग्दै थियो । कार्यालभित्र भन्दा बाहिर कर्मचारी बढी देखिन्थे । सबैे मोबाइलमा व्यस्त थिए सायद फेसबुकमा ।
सबै उस्तै थियो, पहिले जस्तै ।
मैले मेरो फाईल देखाउँदै एक कर्मचारीलाई सोधेँ, हाकिम साब कतिबेला आउनु हुन्छ ?
मेरो मुखतिर नहरी उत्तर आयो, आज आउनुहुन्न तपाईँ भोलि आउनुहोस् ।
मैले फेरि सोधेँ किन यस्तो ? उनले मेरा आँखामा हेरर भने, यहाँ लोकतन्त्र आएको छ ।

मैले मेरो फाईल झोलामा घुसारेँ र बाटो लागेँ ।
– पोखरा

टिप्पणिहरु
Loading...