बलेवा : गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ । कोरोना महामारीबीच पनि कालिका मन्दिरमा देशका विभिन्न स्थानबाट भक्तजन पुग्छन्। कालिका दर्शन गर्न टाढाटतढाबाट भक्तजनहरु आउने गर्छन्।
वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले दर्शन गर्न पाएका थिएनन् । यस वर्ष पनि चैत्राष्टमीको दुर्गापूजा शुरु भएसँगै भीडभाड बढेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो । भक्तजनलाई सामाजिक दूरी कायम गर्दै पूजाआजामा सहभागी गराइएको छ ।
नेपालका धेरै शक्तिपीठमध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानका रूपमा चिनिन्छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको प्रसिद्ध शक्तिपीठ भएकाले बडादसैँ र चैतेदसैँमा हजारौँ भक्तजनको भीड लाग्छ । यसवर्षको चैतेदसैँको समयमा मात्रै १५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए । भक्तालुको आगमनलाई मध्यनजर गर्दै कालिका गुठीले मन्दिरको व्यवस्थापन गरेको थियो । सामाजिक दूरी कायम गराउन स्वयंसेवक परिचालन गरिएको थियो । पूजापाठ र बलिका लागि छरितो बनाइएको थियो ।
भक्तजनका लागि पूजामा सहजीकरण, बलि व्यवस्थापन, यातायातको पार्किङ, सरसफार्इ र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी गरेर र कोरोनाको जोखिमलाई कम गर्न ज्वरो नापेर मात्रै मन्दिर प्रवेश गराइएको थियो ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकाले कालीगण्डकी नदी किनारमा रहेको जङ्गलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भइरहेको जनश्रुति छ ।
मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवनसहित देशभरका विभिन्न स्थानबाट कालिकाप्रति धेरै विश्वास मान्ने दर्शन गर्न आउँछन् । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको खड्काले बताउनुभयो ।
बडादसैँ र चैतेदसैँमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । यो वर्ष कोरोना महामारीलाई मध्यनजर गरेर मेला भने आयोजना गरिएको छैन । त्यतिबेला हजारौँ भक्तजनले पूजा गर्ने, पञ्चबलि दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका भने कहिल्यै नखोल्ने प्रचलन रहेको छ ।