भक्तपुर, २८ चैत: भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको अनुरोध अस्वीकार गर्दै जात्रामा हजारौँ भक्तपुरबासी उन्मुक्त निस्किए । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो तर कोरोना भाइरस (कोभिड १९) को त्रासलाई कुल्चेर भक्तपुरबासी बिस्केट जात्रामा रमाए । जात्रामा साना बालबालिकादेखि कपाल सेतै फुलेका बृद्धबृद्धासमेत जात्रामा देखिन्थे ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेकोमा नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयको व्यापक विरोध भएपछि भक्तपुर नगरपालिकाले जात्रालाई नरोक्ने कुरामा पहलकदमी गरेको थियो उक्त कार्यका लागि सर्वोच्च अदालतले पनि जात्रा नरोक्न आन्तरिम आदेशनै जारी दिएको थियो ।