Admission Open

क्षयरोगका कारण तनहुँमा  १५  र बाँकेमा ५८ को मृत्यु 

तनहुँमा क्षयरोगका कूल २५४ बिरामी छन् । कार्यालयका अनुसार सबैभन्दा बढी व्यास नगरपालिकामा ६८, शुक्लागण्डकी नगरपालिकामा ३५, भानु नगरपालिकाका ३२, देवघाट गाउँपालिकामा २२, भीमाद नगरपालिकामा २४, आँबुखैरेनी गाउँपालिकामा २७, म्याग्दे गाउँपालिकामा १३, घिरिङ गाउँपालिकामा सात, ऋषिङ गाउँपालिकामा ११ र बन्दीपुर गाउँपालिकामा १५ क्षयरोगका बिरामी छन् ।

त्यसमध्ये चालु आवको साउनदेखि फागुनसम्म जिल्लामा १४२ क्षयरोगका बिरामी पहिचान भएका छन् । चालु आवमा व्यास ४१, आँबुखैरेनी १५, भानु १९, बन्दीपुर १६, शुक्लागण्डकी २१, भीमाद ११, घिरिङ ११, ऋषिङ चार र म्याग्देमा चारजना क्षयरोगका बिरामी थपिएका छन् । नियमित ६ महिना औषधि सेवन गरेपश्चात् ७० प्रतिशत उपचार सफल भएको कार्यालयले जनाएको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र र नौवटा प्रयोगशाला छन् ।

नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि ६ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । चौवालीस हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । पन्ध्रदेखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा एक हजार ९४७ क्षयरोगी छन् भने ५७९ उपचार केन्द्र रहेको छ । गण्डकी प्रदेशमा ७० जनाको क्षयरोगबाट मृत्यु भएको तथ्याङ्क छ ।
त्यसैगरी बाँकेमा १९ महिनामा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग र कुष्ठरोग फोकल पर्सन मानव नेपालीले अघिल्लो आव र चालु आवका सात महिनामा ५८ जना क्षयरोगीले ज्यान गुमाएको जानकारी दिनुभयो ।

अघिल्लो आवमा ३८ र चालु आवमा २० जनाको क्षयरोगबाट ज्यान गएको नेपालीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा धेरै क्षयरोगी भएका जिल्लामध्ये बाँके तेस्रो नंमा रहेको उहाँले बताउनुभयो । सबैभन्दा बढी रुपन्देहीमा एक हजार १६३, दोस्रो दाङमा ९१६ र तेस्रो बाँकेमा ८३३ क्षयरोगी छन् । यो अघिल्लो आवको तथ्याङ्क हो । यो वर्षको सात महिनामा थपिएका ४७५ क्षयरोगी जोड्दा जिल्लामा १९ महिनामा एक हजार ३०८ जना क्षयरोगी भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले बाँकेमा १९ महिनाकामा क्षयरोगबाट ५८ जनाको ज्यान गएकामा आफूहरूले अब आउने दिनमा कसैको मृत्यु नहोस् भनेर यो रोग नियन्त्रण गर्न लागिपरेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...