Admission Open

बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति

म्याग्दी, २८ फागुन : म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शय्यासम्म पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिनुभयो ।

आकस्मिक, मिर्गौला डायलासिस, सघन उपचारकक्ष (आइसीयू) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइपलाइन जडान भएको छ । “उत्पादन केन्द्रबाट सबै शय्यासम्म अक्सिजन आपूर्ति गर्ने पाइप जोडिएको छ”, अध्यक्ष कटुवालले भन्नुभयो, “आवश्यकताका आधारमा चिकित्सक र स्वास्थ्यकर्मीको सुझावअनुसार बिरामीले शय्यामै अक्सिजन पाउँछन्, सिलिण्डर भरेर ओसार्नु पर्दैन ।”

पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताउनुभयो । “श्वासप्रश्वास, आइसीयूमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ”, उहाँले भन्नुभयो, “गत पुस महिनादेखि अस्पतालमा अक्सिजन उत्पादन शुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।”

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको हो । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा कँडेलले बताउनुभयो । हाल १० वटासम्म सिलिण्डर भर्ने डा कँडेलले बताउनुभयो । अस्पतालमा अहिले दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

“सामाजिक विकास मन्त्रालयले गत आवमा रु ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो”, उहाँले भन्नुभयो, “सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याएका छौँ ।”

मन्त्रालयको रु पाँच लाख सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । अक्सिजन उत्पादन केन्द्र र औषधि बिक्रीकक्षको बिहीबार सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । लायन्स क्लब अफ बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्यले व्यक्तिगतरूपमा रु तीन लाख ५१ हजार खर्चेर औषधि बिक्रीकक्षको भवन निर्माण गर्नुभएको हो । धवलागिरि गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु ३० लाखबाट सघन उपचारकक्षमा एक भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताउनुभयो ।

विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै पाँच शय्या क्षमताको सघन उपचारकक्ष सञ्चालनमा ल्याएको थियो । गत साउन महिनादेखि मिर्गौलाको डायलासिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचारकक्षसमेत सञ्चालन गरेको छ । फोहर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती देखिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...