Admission Open

नेपाल पर्यटन बोर्डले शुरु गर्यो, लुम्बिनीको ब्रान्डिङ

सिद्धार्थनगर, २५ फागुन : बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ । लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र प्रतीक चिन्हलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकारवालाले बताएका छन् ।

लुम्बिनीसँग सरोकारित सङघसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारबीच रुपन्देहीको टाइगर प्यालेसमा भएको आज भएको कार्यक्रममा लुम्बिनीको लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएअनुसार बुद्ध रंग, अशोका पिल्लर, बुद्धजन्मस्थल र बुद्धिज्मसँग सरोकार भएका विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावित लोगोमाथि अन्तक्र्रियाका सहभागीले आ–आफ्ना सुझाव दिँदैं लोगोको अक्षर रन्जना लिपीमा राखेमा अझै प्रभावकारी हुने बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा इश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताउनुभयो । उहाँले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृत रुपमा लुम्बिनीको प्रबद्र्धनमा लाग्नुपर्नेसमेत बताउनुभयो । डा गौतमले लुम्बिनीमा प्रसूति अस्पताल खोल्नेगरी छलफल भएकोसमेत बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयका सचिव डा राजेन्द्र केसीले सरकारले सधैंँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले लुम्बिनीको प्रबद्र्धन गर्न पर्यटन बोर्डले सबैको सहकार्य र सुझाबलाई अङ्गिकार गर्दै ब्रान्डिङ गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीलाई प्रत्यक्ष जोड्ने गरी कार्यक्रम गर्ने, लुम्बिनी क्षेत्रका हिन्दू पर्यटकीय धामसँग लुम्बिनीको सञ्जाल विस्तार गर्ने, विभिन्न निकुन्जमा कार्यक्रम गराउने तथा हिलस्टेशन र हिमालका दृश्य हेर्न मिल्नेगरी कार्यक्रम बनाउने गरी बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्नुपर्छ ।” नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्इंले निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदानलाई सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्वको बारेमा बताउँदै लुम्बिनीको ब्रान्डिङ पश्चात् अन्तर्राष्ट्रियस्तरमा अझै महत्व बढेर जाने बताउनुभयो । पर्यटन पुनरुत्थान समिति संयोजक सागर अधिकारीले लुम्बिनीको अहिलेसम्म ब्रान्डिङ नभएको बताउदैं भन्नुभयो, “जसरी थाइल्याण्डको एमाइजिङ थाइल्याण्ड, भारतको अमूल्य भारत र नेपालको नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाए जस्तै लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रंग, नाम, लोगोको विषयमा गरिएको छलफलले कोरोना कहरपछिको पर्यटन पुनरुत्थानमा ठूलो योगदान दिनेछ । ”

कार्यक्रममा पर्यटनविद् विक्रम पाण्डे, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा सन्जीव हुमागाईँ, भिक्षु मैत्रेय, भारतस्थित एशोसियशन अफ बुद्धिस्ट टूर अपरेटर (आब्टो) का महासचिवसमेत रहेका भारतीय पर्यटन व्यवसायी डा कौलेशकुमार, पर्यटन व्यवसायी लीलामणि शर्मालगायतले लुम्बिनीको ब्रान्डिङमा सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...