Admission Open

बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै

बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।
गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेका हुन् । जिल्लाभर पाँच स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छन् । तीमध्ये सदरमुकामस्थित धौलागिरि अस्पतालमा सबैभन्दा बढी सुरक्षित गर्भपतन हुने गरेका छन् । सदरमुकाम र जिल्लाको सुदूरपश्चिममा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै अनिच्छित गर्भ रहेका महिला गर्भपतनका लागि पुग्ने गरेका छन् ।

चालू आर्थिक वर्षको हालसम्म धौलागिरि अस्पतालमा १६५ महिलाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । अस्पतालका नर्सिङ निरीक्षक मिलन बडूवालले कोरोना भाइरसको महामारी फैलिनुभन्दा पहिले हरेक महिना ५० महिला गर्भपतनका लागि आउने गरेको भए पनि पछिल्लो समयमा भने ३०÷३५ जना मात्र आउने गरेको बताउनुभयो । गत वर्ष अस्पतालबाट ६०० महिलाले गर्भपतन गराएका थिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चालू वर्षको हालसम्म ९९ महिलाले सुरक्षित गर्भपतन गराएको डा मिलन मल्लले जानकारी दिनुभभयो । बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन बुर्तिबाङमै गराए पनि त्यो भन्दा माथिको लागि धौलागिरि अस्पताल बागलुङमा रिफर गर्ने गरेको उहाँले बताउनुभयो ।

गर्भपतन गराउन आउने महिलाको सम्पूर्ण स्वास्थ्य जाँच गरी पाठेघर, बच्चाको अवस्था र गर्भवती महिलालाई जोखिमको अवस्था अध्यायन गरेर मात्र गर्भपतन गराउने गरेको उहाँको भनाइ छ । गर्भपतन गराउनेको परिचय सुरक्षित रहने भएकाले पनि इच्छा विपरितको गर्भपतन गर्न आउनेको सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समय शिक्षाको पहुँच र जनचेतनाका कार्यक्रमले गर्दा सन्तानको रहर पुगेका तर स्थायी बन्ध्याकरण नगराएका दम्पति गर्भपतनका लागि धेरै आउने गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...