Admission Open

बार्बी डल

बाल कथा

 

स्कुलको अन्तिम परीक्षा आउन केही दिन मात्र बाँकी थियो । पढाइमा व्यस्त भावना एक्कासी भान्सामा गइन र भनिन्, “आमा यस पल्टको अन्तिम परीक्षामा म फस्ट भएँ भने मलाई के किनिदिनु ह्ुन्छ”? आफ्नी छोरीले स्नेहपूर्वक यसरी  सोधेकोमा आमा खुसीले दङ्ग हुनु भो । हरेक आमाबाबुलाई अरुका भन्दा आफ्नै सन्तान अब्बल लाग्छ अनि आफ्ना सन्तानले राम्रो काम गरुन्, पढाइमा अरुभन्दा जान्ने होऊन्, र संधै आफ्नै छोराछोरी प्रथम होउन भन्ने इच्छा हुन्छ । भावनाले पनि आमासँग प्रथम हुन्छु भन्ने आशय व्यक्त गर्दा आमाले अन्य कुरा केही नसोची भन्नुभयो,् “तिमीले जे भन्छ्यौ त्यही किनिदिन्छु” । आमाको भनाइ नसकिँदै भावना कुनै प्रतिक्रिया नजनाई फुत्त बाहिर निस्किइन र फेरि आफ्नो कोठामा गएर पढ्न थालिन् ।


भवना पढाइमा मात्र होइन, चित्रकला, साहित्य र गीतसंगीतमा पनि उत्तिकै चलाख थिइन । केही समय अगाडि पनि आमालाई उनले भनेकि थिईन्, “स्कुलको कविता प्रतियोगितामा प्रथम भएँ भने मलाई मैले राजेको बार्बीडल किनिदिनु पर्छ है ।” भावनाले सोचेजस्तै उनी त्यस प्रतियोगितामा प्रथम नै भईन् तर आमाले बार्बी डल किनिदिने कुरै गर्नु भएन ।
भावनाले सोचिन, सायद आमाले भुल्नु भयो ।
लगभग महिना दिन पछिको समय हो । स्कुलको अन्तिम परीक्षा पनि सकियो र त्यसको एक हप्तामै परीक्षाफल पनि प्रकाशित भयो ।
उनी नतिजा हेर्न बुबासँगै स्कूल गईन, स्कुल नपुग्दै बाटैमा साथीहरुले बधाई दिन थाले । स्कूल पुग्नासाथ क्लासटिचरले उनलाई बोकेर माया गर्नुभयो । भावनाले स्कूलकै सबैभन्दा बढि नम्बर ल्याएकी रहिछन् । उनलाई सबैले बधाई दिए र माया गरे । छोरीको प्रगतिले भावनाको परिवारमा पनि खुसी छायो ।
भावनालाई भने प्रथम भएकोमा भन्दा बार्बीडल किन्ने र बिदामा बार्बीडल बोकेर साथीहरुसँग खेल्न पाउने कुराले बढी खुसी बनायो । आफने ठूलो रहर पूरा हुने कुरामा उनी ढुक्क भइन् ।
एक दिन शनिबारको बिहान बुबाले भाबनालाई घुमाउन लैजाने , कापी–किताब र ड्रेसहरु किनिदिने कुरा गर्नुभयो । भाबना पनि खुसीले एकपटक बुरक्क उफ्रँदै बरन्डासम्म पुगिन् । खाना खाएपछि भाबना बुबाआमासँग बजारतिर लागिन् । सिटिसेन्टरबाट शुरु भएको उनीहरुको यात्रा काठमाडौँमलसम्म पुग्यो । भाबनालाई हरियो रङगको जामा, जुत्ता लगायत भाबनाका बुबा र आमाले पनि आफ्ना लागि केही आवश्यक लुगाहरु किन्नु भयो । भाबनाले सिटिसेन्टरमा रहेको खेलौना पसलमा गएर एउटा ठूलो बार्बीडल देखाएर किनिदिन आग्रह गरिन् । आमाले बुबातिर औल्याउनु भयो । भावनाले  बुबालाई गएर सोही कुरा बताइन् तर बुबाले पनि केही प्रतिक्रिया जनाउनु भएन । उनीहरु सिटीसेन्टरबाट झरे । भाबना पनि खिन्न हुँदै झरिन् । सिटी सेन्टरबाट उनीहरु सिभिलमलतिर लागे । त्यहाँ भाबनालाई सेतो ब्याग र लेगिज आदि किने तर ती सामान किन्दा भाबनाको कुनै उत्सुकता थिएन । त्यहाँ भाबनाको रोजाइको डल थिएन । फेरि पनि उनीहरु काठमाडौँमलतिर लागे । त्यहाँ छिर्ने बितिकै भाबनाले खोजेजस्तै बार्बी डल देखिन् र दौडँदै गएर अङ्गालो हालिन र बाबालाई किनिदिन ढिपी गरिन् । आमालाई बिन्ति गरिन् तर न बाबा किनिदिनु भयो, न आमाले । दुबैजनाले अर्को पसलमा किन्ने भन्दै त्यहाँबाट टेक्सी चढेर सरासर घर फर्कनु भयो ।
अर्को दिनको कुरा हो , भाबना स्कुल जान मानिनन् उनलाई हल्का ज्वरो आएको थियो । हिजो अलिबढी हिंडडुल गरेकाले होला भन्ने ठानेर दुबैजना  भावनालाई घरमै रामुको जिम्मा लगाएर आ–आफ्नो काममा लागे । साँझ घर फर्कँदा भावना ज्वरोले इन्तु न चिन्तु थिइन, उनीहरु धेरै डराए तर राति भईसकेकाले हल्का पानीपट्टी गरेर सिटामोल दिने र भोलि सबेरै हस्पिटल लैजाने सल्लाह गरेर सुते ।
भाबनाले निद्रामा बार्बीडल……. बार्बीडल……. भनेको सुनेपछि भावनाको बुबालाई आफ्नी छोरीको इच्छा पूरा नगरिदिएकोमा पछुतो लाग्यो । आमाले पनि आफूले छोरीलाई भनेको  कुरा सम्झिइन् र भोलिपल्ट बिहानै नजिकैको गिफ्टशपबाट उनले रोजेजस्तै ठूलो बार्बी डल किनेर ल्याईदिइन् । कोठाबाट भित्र छिर्दाछिर्दै भावनालाई बोलाउँदै, भनिन् नानी मैले तिमीलाई बार्बी डल ल्याई दिएँ । बार्बी डल सुन्ने बित्तिकै भावना आछ्यानबाट उठिन् । आमाले उनको हातमा बार्बी डल राखिदिइन । आफूले खोजेजस्तै ठूलो बार्बी डल ल्याईदिएको देखेपछि भाबना खुसी भइन् । ज्वरो आइरहेकै थियो तापनि उनी उठेर बार्बी डलसगँ खेल्न थालिन् । भाबनाका बुबाआमा पनि छोरीको खुसी देखेर दङ्घ परे । ज्वरो पनि बिस्तारै कम हुँदै गयो । बुबाआमाले आफ्नो चाहाना पूरा गरिदिएकोमा भावना  पनि दङ्घ परिन् । उनको बिमार यसै ठीक भएको देखेर भाबनाका बुबाआमा छक्क परे ।
अर्को दिनदेखि नयाँ–नयाँ किताब बोकेर नयाँ लक्ष्यका साथ भाबना स्कूल जान थालिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...