अहिलेसम्मकै धेरै आईपीओ आवेदन खोल्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आवेदन चालु रहेकै अवस्थामा एकैदिन ८० हजारबढी डिम्याट खाता थपिएको सिडिएससिको वेबसाइटमा देखिएको छ । सिडिएससिको वेबसाइटमा देखिएको तथ्याङ्क अनुसार माघ ४ गते, एकैदिन ८१ हजार ७५९ जनाले डिम्याट खाता खोलेका छन् ।
सिडिएससिको तथ्यांक अनुसार माघ ५ गते सोमबारसम्ममा २५ लाख ८२ हजार १०४ डिम्याट खाताहरु खुलेका हुन । अघिल्लो दिन आइतबारसम्ममा डिम्याट खाताको संख्या २५ लाख ३४५ रहेको थियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले करिब ८ अर्बको आईपीओ बिक्रीमा ल्याएपछि डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो । बैंकको आईपीओ खुल्नु केही दिनअघिदेखि नै यो संख्या बढ्न थालेको हो।
बैंकले बिक्रीमा ल्याएको आईपीओ सबै आवेदकलाई पर्ने पक्का भएकाले पनि डिम्याट खाता खोलेर आवेदन गर्नेको संख्या वृद्धि भएको हो ।
सिडिएससिको वेबसाइटमा यस्तो देखिएतापनि दैनिक खाता खोल्नेको संख्या औसतमा ३० हजारकै हाराहारीमा रहेको सिडिएससिले जनाएको छ । सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले सोमबार २२ हजार नयाँ डिम्याट खाता खोलिएको जानकारी दिए । आइतबार मात्रै ३० हजारबढी डिम्याट खाता खुलेको उनले बताए । वेबसाइटमा भने शनिबार खोलिएका खाताहरुको तथ्यांकसमेत एकैपटक बाहिरआउँदा एकैदिन धेरै खाता खोलिएको देखिएको उनले बताए ।