Admission Open

ललितपुरको लुभुस्थित रमेश खड्काको घरमा एक दम्पत्ति मृत अवस्थामा भेटिए

काठमाडौं, ६ माघ । ललितपुरको लुभुस्थित रमेश खड्काको घरमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । ललितपुरको लुभुमा रहेको रमेश खड्काको घरको एक फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका दम्पत्ति मृत भेटिएका हुन् । ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीया निर्मला पोखरेलबीच पाँच महिना अघि मात्रै विवाह भएको थियो ।

महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताएअनुसार उनीहरु बसेको कोठा भित्रबाट चुकुल लगाइएको थियो । त्यसरी बन्द कोठाभित्र दुवै जनाको शव भेटिएको थियो । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार पोखरेल भेटेनरी सामानका सप्लायर हुन् ।

पोखरेल दम्पत्तिसँगै फ्याल्टमा उनीहरुका आमाबुबा पनि बस्ने गरेका थिए । तर, आमाबुबा दुबैजना बालकोटस्थित छोरीको घरमा गएका वेला उक्त घटना घटेको थियो। आमाबुबाका अनुसार आइतबार बिहानसम्म सम्पर्क भए पनि सोमबार बिहान फोन गर्दा फोन नउठेपछि उनीहरु घर गएपछि मात्र घटनाबारे थाहा भएको भनिएको छ ।

प्रहरी सोमबार बिहान ११ बजे घटनास्थलमा पुग्दा घटना भएको कोठा आसपास कुनै पनि किसिमको नोट प्रहरीले भेट्टाएको छैन । घटना के कारणले भयो भन्नेबारे कारण पत्ता लगाउन प्रहरीले अहिले आफन्तजनसँग सोधपुछ र उनीहरुको मोबाइल विश्लेषण गर्ने प्रयास गरिरहेको छ ।

घटनास्थलबाट बरामद गरिएको मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको एसपी प्रज्वल महर्जनले बताए । महर्जनका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...