Admission Open

डम्म हुस्सु र चिसो स्याँठकाबीच महोत्तरीमा तिलासक्रायत मनाइँदै

महोत्तरी, १ माघ
लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुकाबीच पनि मिथिलामा तिलासक्रायत पर्व मनाइँदैछ । पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ चलिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको भए पनि माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा हर्षोल्लासका मनाइँदैछ । माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा तिलासक्रायत र मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ ।

मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले तिलासक्रायत पर्व मनाउने गर्दछन । यो पर्व विशेष गरी खानपानका लागि प्रसिद्ध रहेको छ । खासमा मिठ्ठा (सख्खर) को खुँदोमा मिलाएर बनाइने तिल, चिउरा, जुनेला (अन्नविशेष) र मुरी (विशेष प्रकारले बनाइएको चामलको भुजा) का ‘लाइ’ (लड्डू) विशेष मानिन्छन् । यसैगरी बिहानै मकरस्नान गरेर तिलको झिक्रा बालेर आगो ताप्ने र पुरोहितको हातबाट तिल डढाएको अँगारलाई घ्यू मा मुछेर बनाइएको कालोटीका लगाएपछि धार्मिक विधि सम्पन्न हुन्छ । पर्वका दिन मासको दाल, अरुवा चामल र घ्यूको खिचडी खाने आम चलन रहेको छ । यसका साथै तरुल, सुठुनी (सख्खरखण्ड) लगायतका कन्दमूल उसिनेर खाने चलन पनि रहिआएको छ। मगर र तराईका आदिवासी थारूले भने मासुका विभिन्न परिकार बनाएर कुटुम्बजनसहित रमाइलो गरेर खाने परम्परा रहेको छ ।

जाडो बढेपछि धार्मिक महत्वका नदी र कुण्डमा स्नान (नुहाउन) जानेको सङ्ख्या स्वात्तै घटेको छ । चिउरा, जुनेलो र मुरीको ‘लाइ’ बनाइए पनि तिलको भने मनमाफिक बनाउन नसकिएको मिथिलानी (मिथिलाका नारी, गृहिणी) ले बताएका छन् । खासमा ‘लाइ’ बनाउन तिल ओखलमा फलेर सुकाउन पर्ने तर पछिल्ला चार दिनयता यसरी फलिएको तील लगातारको ओसले नसुकेपछि आवश्यक जति ‘लाइ’ बनाउन नसकिएको मैथिल गृहिणीको भनाइ छ ।

सूर्य मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण शुरु हुने हुनाले यस पर्व उल्लास र उमङ्गको हुने मैथिल बताउँछन् । जाडो मौसम भएको हुँदा आँत तताउन खाने परिकारमा मिठ्ठा, घ्यू र तिलको प्रयोगको परम्परा पुर्खाहरुले शुरु गरेको हुनपर्ने बर्दिवास–२ का मैथिल परम्पराका कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ । मिथिलामा माघे सङ्क्रान्ति पर्वका खास परिकार लाइ जाडोभरि खाजाका रूपमा खाने गरिन्छ । घरमा पर्व मनाइएसँगै तिलासक्रायत पर्वको सनेस (कोशेली) छोरीचेली, मितमितिनी र इष्टजनकहाँ पु¥याउने क्रम जारी रहन्छ । मिथिलामा ‘लाइ’को मौसम माघ महिनाभरि नै रहने गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...