Admission Open

के विचार आयो त नेताजी तपाईंको मनमा ?

फलोअप, समाचार

# दीपक निरौला

सुनसरी, १ भदौ : नेपाली माला डटकम [www.nepalimala.com] अनलाईन पत्रिकामार्फत, अघिल्लो पटक दुहवी–इनरुवा सडक खण्डको संक्षिप्त परिचय दिइएको थियो । त्यसमा यो सडक प्रयोग गर्ने भुक्तभोगी नेताको नाम थियो ।

उक्त समाचारले स्थानीय वासिन्दा साह्रै नै खुसी भए । विषय उठान सही हो भनेर कतिपय नेता गणले नभनेका पनि होइनन् । तर खै त ? विषय उठानको कुरो कहाँ पुग्यो ? पानीको वाफ जस्तै हो त ? आगो बलुञ्जेल र भाँडोमा पानी छउञ्जेल बाफ उड्यो । आगो निभ्यो, पानी सुक्यो, वाफ हरायो । त्यस्तै हो त नेताज्यू ? सडकको दुरावस्थाको बारेमा भएका प्रारम्भिक, मध्यम वा अन्तिम चरणका छलफलका विषयमा म बबुरोलाई सोधेर हैरान ।

अब बाटो बन्छ ? बन्ने भो ? यी र यावत प्रश्नले घेरिएर फेरि विषय उठान गर्न बाध्य भएको हुँ । पत्रकारले समस्याको विषय उठान गर्ने हो । सम्बन्धित निकायमा राजनीतिको भेष धारण गरेर समाज सेवा गर्ने राजनीतिज्ञले हो समस्या टेवल गर्ने ।

विजय गच्छदारः जो धेरै पटक सत्तामा पुगेर दाहिने देव्रे दुवै हातले स्वाद मारीमारी सत्ताको तर चाखे । यही सुनसरी क्षेत्रले नपत्याएको भए तिनको हैसियतले भ्याउने थिएन । तर आज रातदिन लडीवुडी गर्ने बाटो बनाऊ भन्दा किन मौन ? सायद यस्ता समाचार उनको कानमा पुग्दैन होला ! आसेपासेले पु¥याउँदैनन् होला ।

भीम आचार्यः तीन पटकसम्म यस क्षेत्रका जनताले लोप्पा खुवाएको रिस साँध्या त होइन होला नि ? महेन्द्र राजमार्ग उत्तरतर्फको क्षेत्रले राजनैतिक वैतर्र्नी तारेको हुनाले मोह त्यतै होला । अल्पकालीन पर्यटन मन्त्री र एमालेको प्रवक्ता हुँदा यिनलाई यो सडकको दुरावस्था हेक्का हुने कुरै भएन ।

सीताराम मेहताः इनरुवा नगरपालिकाको जननिर्वाचित मेयर । दुई पटक संघीय सांसद । एक पटक भौतिक यातायत तथा पूर्वाधार राज्यमन्त्री । जनतालाई सधैं ढाँटेर राजनीतिको बारी हरियाली पार्ने ? विरामी पर्दा, तलवभत्ता बुझ्न जाँदा, संसदमा भागलिन जाँदा घरबाट निस्किएर प्लेन चढ्न जाने ठाँउसम्म पुग्ने बाटाको दुरावस्था थाहा छैन ? दुहवीहुँदै कौवाखोच भनेर कति पटक ढाँट्ने ? कतिपटक वेवकुफ बनाउने यस क्षेत्रका पीडित जनतालाई ? अबको चुनावमा पनि त्यही हावा नलाग्ने बहस लिएर नै जनतामा आउने होला हैन नेताज्यू ?

खेमराज पोखरेलः इनरुवा नगरपालिकामा अत्यधिक मत ल्याएर विजयी हुने पूर्व मेयर । समय र बजेट अनुसार धेरै काम गर्ने जनप्रतिनिधि । दुहवी– इनरुवा सडकखण्डको दुरावस्थाको बारेमा जानकार व्यक्ति । घरै अगाडिका सडक दुर्घटनाका प्रत्यक्षदर्र्शी । तपाईंले पहल गर्दा के हुन्छ ? घोसे मुन्टो लगाएर नबोली हिंडेर हुन्छ ?

रामप्रसाद मेहताः दुवै हातमा लड्डु थाप्न हिंड्ने यी अवसरवादी नेताको त के भर । अघिल्लो दिनसम्म सँगै हिंडेका साथीलाई ओछ्यानमै लात मारेर हिंड्न सिपालु । सिंचाई विभागको अध्यक्ष पड्काएपछि जतापनि पानी नै पानी देख्दा हुन ।
राजिव कोइरालाः जो सुनसरी जिल्लाका दुई पटक निर्वाचित कांग्रेस जिल्ला सभापति । वर्तमान १ नंं. प्रदेशका विपक्षी दलका नेता । अहिले पनि इनरुवामै बसोवास गर्ने । सडक बनाउने विषयमा पहल गर्नुस् न भन्दा तपाईं नबोल्ने ? भनाइ जनतामा समर्पित, जनतासँगै सडकमा खाने, सडकमै बस्ने अनि जीवन राजनीतिमै समर्पित भन्ने तर ख्वै त जनताको नेता ? ख्वै त जनप्रिय नेताले जनताको समस्या बुझेको ? नेपाल राज्यभरमा सबैभन्दा सस्तो जग्गा इनरुवा नगरपालिकामा छ । यसको कारण यहाँलाई छर्लङ्गै छ । सडकको दुरावस्था । राजनीतिमा सर्वस्व गुमाएँ भनेर चिन्ता नगर्नुस् नेताज्यू, दोस्रो पुस्ता बलवान भएर तपाईंको विरासत जोगाउँनेछ ।

रमेश श्रेष्ठः पूराना इनरुवा क्षेत्रका विकासका पहरेदारका सन्तान । राजनैतिक पहुँच र धनाढ्य बर्ग । तपाईंले पहल गर्दा हुँदैन ? आफ्नै ऐस आराममा मस्त । दुनियासँग बालमतलव ।

केदार भण्डारीः दुई पटक निर्वाचित काँग्रेस जिल्ला सचिव । केन्द्रसम्म ठूलै कांग्रेसी नेतासँगको पहुँच । अनि चिप्ला कुरा गरेर जनतालाई चिप्ल्याउने ? सडकको दुरावस्थाको बारेमा खाल्डा र जर्किन समेत गन्न भ्याउने तर सम्बन्धित निकायमा विषय उठान गर्न नसक्ने ? भीरलाई सम्म र सम्मलाई भीर बनाउने ? पिपलु पातझैं दुवैतिर फहराउने ?

पोष्टकुमार नेपालः इनरुवाको वरिष्ठतम नेता आफूलाई मान्ने । सडकले घरजग्गा लान्छ भन्ने डर त होइन होलानी ? आफूलाई त्यागी भन्नेले त्याग गर्न सिक्नु प¥यो नि १ होइन र ?

राजन मेहताः कलिलै उमेरमा जनताले पत्याए । (राजनैतिक भाषामा ७० वर्ष पुगेकाले पनि आफूलाई युवा नेता भन्न रुचाउने भएकाले कलिलै शब्द प्रयोग भएको) केही वर्ष कामको बागडोरले सकारात्मक संकेत नै देखायो । हुन्न र सक्दिन कसैलाई नभन्ने । आश्वासनका पोका पन्तुराले मन भरिदिने । रैथानेको धाक हो या दादागिरी ? अहिलेको समयमा सबैलाई कुराएर बुढो बनाउने ? निर्धारित समयमा भेट नदिने ? दुहवी –इनरुवा सडक खण्डको स्तरोन्नतिमा पहल गरे भोलिका दिनमा भोट माग्न मरिहत्ते नगरिकनै चुनाव आफ्नो पक्षमा आउला ।

यी माथिका राजनैतिक व्यक्तित्वहरू प्रतिनिधिमात्र हुन । यस्ता राजनैतिक, प्रशासनिक र गैह्रराजनैतिक धेरै व्यक्तिहरू छन् । जसले आजसम्म सडकको दुरावस्थाको बारेमा आवाजै उठाउँदैनन् । ढलसहितको व्यवस्थित फराकिलो बाटो यस क्षेत्रका जनताको आवश्यकता र चाहना अनि सपना हो । राजनीतिभन्दा माथि उठेर सम्बन्धित क्षेत्रमा पहल गरेको खण्डमा काम फत्ते हुन्छ । खरबौंको बजेट खर्च हुने कठिन अवस्थाको सडक पनि होइन । काम जसले गरे पनि उसको मूल्याङ्कन यस क्षेत्रले सधैं उच्च राख्ने कुरामा दुई मत छैन । सडकको गुणस्तरीयतामा जनता आफैं सजग छन् । केन्द्रको कुरामा लोडसेडिङ अन्त्य गराउन पर्दापछाडि जो–जो भएपनि श्रेय कुलमान घिसिङलाई जान्छ । त्यस्तै दुहवी –इनरुवा सडक खण्ड निर्माणमा एउटा गतिलो स्थानीय कुलमानको खोजी भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...