Admission Open

विद्युत् प्रवाह सुधार्न माग   

रामेछाप : रामेछापमा बारम्बार विद्युत् सेवा अवरुद्ध भएपछि सेवा सुधार गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।

मानवाधिकार संरक्षण सञ्जाल रामेछापले बिहीबार नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहाललाई भेटी विद्युत् सेवा नियमित गर्न ध्यानाकर्षक गराएको हो । सञ्जालकातर्फबाट मानव अधिकारकर्मी, पत्रकार, नागरिक अगुवासमेतको टोली कार्यालयमा गई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षक पत्रमा बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण जल्ने समस्या बढेको नागरिक समाजको गुनासो छ ।

यसैगरी बारम्बार विद्युत् अवरुद्ध हुँदा अनलाइनबाट पढ्नुपर्ने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सरकारी सेवा, बैंक, वित्तीय संस्था र अन्य सेवासमेत अनलाइनबाट सञ्चालन हुने वर्तमान अवस्थामा विद्युत् सेवा अवरुद्ध हुँदा सबै क्षेत्र प्रभावित भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख दाहालले सेवा नियमित गर्ने विषयमा आफू गम्भीर रहेको बताउनुभयो । वर्षाका कारण केही दिनयतादेखि विद्युत् प्रसारणमा समस्या आएको उहाँले स्वीकार्नुभयो । उहाँले समस्या समाधानको लागि आफू र आफ्नो टिम खटिरहेको र छिटोभन्दा छिटो समस्या समाधान गर्ने प्रयत्न गरिरहेको बताउनुभयो ।

रामेछापमा केही दिनयतादेखि दैनिक कैयौँपटक विद्युत् आउने र जानेक्रम चलिरहेको छ । जसले गर्दा फ्रिज, टेलिभिजन, कम्प्युटरलगायत उपकरण जलेर सर्वसाधारणको क्षति भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...