
लन्डन, १४ कात्तिक (रासस/एएफपी): प्रधानमन्त्री एन्डी बर्नह्यामले शनिबार बेलायतले ट्रान्सएट्लान्टिक दास व्यापारमा खेलेको भूमिकाका लागि औपचारिक माफी माग्न आफु तयार रहेको बताउनुभएको छ । उहाँले उक्त भूमिकाका लागि आफूले राज्यका तर्फबाट माफी माग्न तयार रहेपनि आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गर्नुभएको छ ।
लेबर पार्टीका नेता बर्नह्यामले एन्टिगुआ र बारबुडामा हुने कमनवेल्थका नेताहरूको सम्मेलनमा सहभागी हुनुअघि यो टिप्पणी गर्नुभएको हो ।
यतिबेला राजा चार्ल्स तृतीय क्यारिबियाली भ्रमणमा रहनुभएको छ । “म लाखौँ मानिसको पीडा र दुःखप्रति आफ्नो दुःख र पश्चात्ताप व्यक्त गर्न चाहन्छु र यसले आजसम्म हाम्रो संसारलाई कसरी आकार दिएको छ भन्ने कुरा स्वीकार गर्न चाहन्छु,” बर्नह्यामले गार्जियन पत्रिकामा प्रकाशित एक लेखमा उल्लेख गर्नुभएको छ ।
“ट्रान्सएट्लान्टिक दास व्यापार दास बनाइएकाहरूको अधिकारको ‘क्रूर र बर्बर उल्लङ्घन’ थियो,” उहाँले लेख्नुभएको छ ।
बेलायती प्रधानमन्त्रीले आफ्नो सरकार प्रभावित पक्षसँग ‘संरचित संवाद’ चाहन्छ भन्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “बेलायती राज्यको तर्फबाट औपचारिक माफीको माग सुन्नु यस प्रक्रियाको महत्त्वपूर्ण भाग हुनेछ र म त्यसप्रति खुला छु।”
राजा चार्ल्सले नोभेम्बर १ देखि ४ सम्म चल्ने कमनवेल्थ सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । बेलायतको दासत्व र पूर्व उपनिवेशहरूमा मानिसहरूप्रतिको व्यवहारले ७७ वर्षीय राजाको क्यारिबिया क्षेत्रको भ्रमणमा छायाँ पारेको छ । मङ्गलबार बहामासमा राजा चाल्र्सले भ्रमणको पहिलो चरणमा दासप्रथालाई ‘विगतको ठूलो पीडा’ मानिएको स्वीकार गर्नुभएको थियो ।
बेलायतले दासत्वका लागि कहिल्यै औपचारिक माफी मागेको छैन न त क्षतिपूर्ति तिर्न सहमत भएको छ । बर्नह्यामले फेरि आर्थिक क्षतिपूर्ति अस्वीकार गर्दै लेख्नुभयो, “म यसलाई सही जवाफ ठान्दिन। फरक युग र फरक कानूनमा भएका अपराध जतिसुकै घृणित भए पनि आजका बेलायती जनतालाई जिम्मेवार बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन किनकि यसमा उनीहरूको व्यक्तिगत भूमिका थिएन।”
बेलायतले शताब्दीयौँदेखि उपनिवेशवाद र दास व्यापारबाट फाइदा उठाएको थियो। सन् १८३३ मा संसद्ले दासत्व उन्मूलन गर्ने कानून पारित गरेको थियो ।


