
काठमाडौं : हिमालय मोटरक्स प्रालिले दशैंलाई लक्षित गर्दै म्याक्सस इ–टेरोन ९ इलेक्ट्रिक पिकअपका लागि विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘दशैंको उमंग, म्याक्सससँग’ अभियानअन्तर्गत गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षसम्म निःशुल्क चार्जिङ, २० प्रतिशत डाउन पेमेन्ट तथा ७ वर्षसम्मको सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो।
नेपालमा म्याक्सस ब्रान्डको आधिकारिक वितरक हिमालय मोटरक्सले सार्वजनिक गरेको योजनाअनुसार अभियान अवधिमा इ–टेरोन ९ खरिद गर्ने ग्राहकको एक वर्षसम्मको चार्जिङ खर्च कम्पनीले व्यहोर्नेछ। यसले विद्युतीय पिकअपको सञ्चालन लागत घटाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ।
त्यस्तै, ग्राहकले कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकमका लागि ७ वर्षसम्मको इएमआई सुविधा लिन सक्नेछन्। फाइनान्सिङ सुविधा काठमाडौंको हात्तीसारस्थित म्याक्सस शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।
५६० किलोमिटरसम्म रेन्ज
म्याक्सस इ–टेरोन ९ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यो पिकअपमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
इलेक्ट्रिक पिकअपमा अल–ह्विल ड्राइभ (AWD) प्रणालीसँगै ७०० एनएम टर्क उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले विभिन्न सडक तथा भौगोलिक परिस्थितिमा ट्र्याक्सन, स्थिरता र एक्सेलेरेसनमा सहयोग पुर्याउने कम्पनीको दाबी छ।
पिकअप भए पनि इ–टेरोन ९ मा एसयूभी स्तरको आराम र सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ। एयर सस्पेन्सनसहितको डिजाइनले यात्रामा आराम र अफ–रोड क्षमतामा समेत सहयोग गर्ने कम्पनीले जनाएको छ।
ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी
म्याक्सस इ–टेरोन ९ को ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। त्यस्तै, मोटरमा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ।
दशैं योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले एक वर्षको अटोप्लस बीमा र एक आर्थिक वर्षको सडक करसमेत खरिद मूल्यमा नै प्राप्त गर्ने कम्पनीले जनाएको छ।
हिमालय मोटरक्सका शोरुम म्यानेजर सुजन श्रेष्ठले दशैंको अवसरमा ग्राहकलाई विद्युतीय पिकअपको स्वामित्व सहज बनाउन विशेष योजना ल्याइएको बताए।
“दशैं खुसीका साथ नयाँ सुरुवात गरी परिवारसँग मनाउने चाड हो। हामी बजारमै प्रतिस्पर्धी स्वामित्व योजना प्रस्तुत गरेर यो खुसी ग्राहकसँग बाँड्न चाहन्छौं,” श्रेष्ठले भने, “म्याक्सस इ–टेरोन ९ मार्फत एक वर्षको निःशुल्क चार्जिङ र सहज फाइनान्सिङसहित पावर, विलासिता र मानसिक शान्ति प्रदान गरिरहेका छौं।”
हिमालय मोटरक्सका अनुसार ग्राहकले आधिकारिक शोरुममा पुगेर इ–टेरोन ९ को परीक्षण तथा प्रत्यक्ष अनुभव लिन सक्नेछन्। योजनाका विस्तृत नियम तथा सर्तहरू कम्पनीका आधिकारिक आउटलेटबाट प्राप्त गर्न सकिने जनाएको छ।
हिमालय मोटरक्स हिमालय अर्गनाइजेसनअन्तर्गतको कम्पनी हो। कम्पनीले विश्वव्यापी अटोमोटिभ समूह एसएआईसी ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डका विद्युतीय सवारीसाधन नेपाली बजारमा बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।


