Admission Open

ad place

इरान–अमेरिका वार्तामा सम्झौताप्रति आशा

वासिङ्टन, ३ वैशाख (रासस/एएफपी) : इरानसँगको शान्ति वार्ताको दोस्रो चरण अघि बढाउने विषयमा पाकिस्तानमार्फत कूटनीतिक प्रयास तीव्र भइरहेका बेला संयुक्त राज्य अमेरिकाले सम्झौतामा पुग्ने सम्भावनाप्रति आशावादी रहेको जनाएको छ । वासिङ्टनले पाकिस्तानमा सम्भावित नयाँ वार्ताबारे छलफल जारी रहेको पुष्टि गर्दै कूटनीतिक समाधानतर्फ सकारात्मक सङ्केत देखिएको बताएको हो ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार पाकिस्तानी राजधानी इस्लामाबादमा थप वार्ताको सम्भावना खुला छ र त्यसबारे छलफल चलिरहेको छ । “ती छलफलहरू जारी छन् र हामी सम्झौताको सम्भावनाबारे सकारात्मक महसुस गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यो कूटनीतिक आशावाद पाकिस्तानको सक्रिय मध्यस्थता र साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको हालैको चार दिने भेटपछि आएको हो । यसैबीच, तेहरान पुगेको पाकिस्तानी प्रतिनिधिमण्डलले इरानी अधिकारीहरूसँग नयाँ वार्ता र अमेरिकी सन्देश आदानप्रदान गर्ने तयारी गरेको छ ।

यसअघि पहिलो चरणको वार्तामा संलग्न अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई ‘ग्रान्ड डिल’ प्रस्ताव गरिएको बताउनुभएको छ । यसको उद्देश्य इरान–अमेरिका–इजरायलबीच जारी छ हप्ते द्वन्द्व अन्त्य गर्नुका साथै इरानको आणविक कार्यक्रमसम्बन्धी दशकौँ पुरानो विवाद समाधान गर्नु रहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र अमेरिकाको साझा लक्ष्य इरानको संवर्धित आणविक सामग्री हटाउनु, संवर्धन क्षमता अन्त्य गर्नु र होर्मुज जल डमरूमध्य पुनः खोल्नु रहेको बताउनुभएको छ । यो जल डमरूमध्य विश्वको करिब पाँचौँ भाग कच्चा तेल ढुवानी हुने महत्त्वपूर्ण मार्ग हो, जुन द्वन्द्व सुरु भएयता अवरुद्ध बनेको छ ।

आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएवाले युद्ध लम्बिएमा र तेलको मूल्य उच्च रहेमा विश्व अर्थतन्त्र गम्भीर दबाबमा पर्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार यस्तो अवस्थाले मुद्रास्फीति र खाद्य मूल्यमा प्रत्यक्ष असर पार्न सक्छ ।

कूटनीतिक आशावादसँगै विश्व बजारमा पनि प्रभाव देखिएको छ । वाल स्ट्रिटमा सेयर बजार उकालो लागेको छ भने प्रमुख सूचकाङ्कहरू रेकर्ड नजिक पुगेका छन् । अर्कोतर्फ, कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।

यता सैन्य मोर्चामा तनाव कायमै छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथि लगाइएको नाकाबन्दी प्रभावकारी रहेको दाबी गर्दै पहिलो ४८ घण्टामा इरानी बन्दरगाहबाट बाहिर निस्कने प्रयास गरेका १० वटा जहाजलाई फर्काइएको जनाएको छ । “कुनै पनि जहाजले अवरोध तोड्न सकेको छैन”, सेन्टकमले भनेको छ ।

तर इरानी सञ्चारमाध्यमहरूले दक्षिणी इरानबाट समुद्री ढुवानी जारी रहेको दाबी गरेका छन्, जसले स्थिति अझै अनिश्चित रहेको देखाएको छ ।

इरानका सैन्य कमान्डर अली अब्दुल्लाहीले अमेरिकी नाकाबन्दी नहटाइए भने क्षेत्रीय व्यापार रोक्ने चेतावनी दिनुभयो । साथै, इरानका सर्वोच्च नेता मोजताबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिकी जहाजहरू जल डमरूमध्यमा प्रवेश गरेमा लक्षित गर्ने चेतावनीसमेत दिनुभयो ।

त्यसैबीच, इरानी विदेश मन्त्री अब्बास अराघचीले पाकिस्तानी सेना प्रमुख असीम मुनीरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग तेहरानमा छलफल गर्नुभएको छ । इरानी राज्य सञ्चारमाध्यमका अनुसार उक्त छलफलले अमेरिका–इरान वार्ताको दोस्रो चरण अघि बढाउने वातावरण बनाउने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट स्थायी रूपमा रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार इरान आणविक हतियार विकासको नजिक पुगेको दाबी भए पनि संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले त्यसलाई पुष्टि गरेको छैन ।

अर्कोतर्फ, वासिङ्टनले इरानको युरेनियम संवर्धन कार्यक्रमलाई २० वर्षसम्म निलम्बन गर्न माग गरेको छ भने तेहरानले पाँच वर्षका लागि मात्र रोक्ने प्रस्ताव अघि सारेको छ, जसलाई अमेरिकी पक्षले अस्वीकार गरेको छ ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै संवर्धनको अधिकार ‘निर्विवाद’ रहेको तर त्यसको स्तर वार्ताबाट तय गर्न सकिने बताएको छ ।

यसै कूटनीतिक गतिविधिसँगै इजरायल–लेबनान सम्बन्धमा पनि वार्ताको सङ्केत देखिएको छ । वासिङ्टनमा हालै भएको अप्रत्यक्ष संवादपछि दुई देश प्रत्यक्ष वार्तामा जाने सहमतिमा पुगेको बताइए पनि आधिकारिक पुष्टि भने अझै अस्पष्ट छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले लेबनानसँगको वार्ताको मुख्य उद्देश्य हिजबुल्लाहको विघटन र दीर्घकालीन शान्ति स्थापना रहेको बताउनुभयो । तर लेबनानी पक्षले भने औपचारिक वार्ताबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । (RSS)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...