Admission Open

ad place

उपसभामुखमा रा प्र पाबाट लामा र श्रम संस्कृति पार्टीबाट ठाकुरको उम्मेदवारी

काठमाडौँ, २६ चैत : प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ । लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहनुभएको छ भने ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ः०० बजेसम्म सभा कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।

दर्ता भएका उम्मेदवारीको सूचनालाई दर्ता क्रमअनुसार सूची प्रकाशन गर्न २ः३० बजेको समय तोकिएको छ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...