Admission Open

ad place

तमु ल्होसार पर्व आज, टुँडिखेलमा भव्य सांस्कृतिक कार्यक्रम

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतस्वरूप आज तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ। गुरुङ समुदायले यस पर्वलाई आफ्नै नयाँ वर्षका रूपमा परम्परागत विधि, सांस्कृतिक कार्यक्रम तथा सामूहिक उत्सवका रूपमा भव्य ढङ्गले मनाउने परम्परा रहेको छ।

तमु ल्होसार पर्व सूर्यको गति र किरणसँग गहिरो सम्बन्धित रहेको मानिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायतका जिल्लामा सूर्यको ताप अन्य स्थानको तुलनामा छिटो महसुस हुने भएकाले पुस महिनामा नै यो पर्व मनाइने गरिएको विश्वास छ। यसै आधारमा क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास रहेको क्षेत्रमा सूर्यको ताप ढिलो आउने भएकाले उनीहरूले माघ र फागुन महिनामा ल्होसार मनाउने चलन रहेको जानकारहरू बताउँछन्।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारलाई प्राकृतिक चक्रसँग जोडेर विशेष महत्वका साथ मनाइने गरिन्छ। यही सांस्कृतिक र सामाजिक महत्वलाई मध्यनजर गर्दै आजको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

तमु ल्होसारको अवसरमा टुँडिखेलमा गुरुङ समुदायको तर्फबाट विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन गुरुङ समुदायका महिला, पुरुष र युवायुवतीहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन्। कार्यक्रममा गुरुङ समुदायका मौलिक नृत्य, सांस्कृतिक प्रस्तुति तथा परम्परागत परिकारहरूको विशेष प्रदर्शनीसमेत गरिएको छ।

यस अवसरमा आइतबारदेखि राजधानी काठमाडौँको टुँडिखेलमा ल्होसार महोत्सवसमेत सुरु भएको छ। महोत्सवमा हजारौँ सर्वसाधारण, संस्कृतिप्रेमी तथा पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको छ। आयोजकका अनुसार महोत्सवले गुरुङ समुदायको सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...