
बेलबारी, मोरङ, २७ मङ्सिर : मोरङको सुन्दरहरैचा नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। सुन्दरहरैचा नगरपालिका–१२, बिराटचोक निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे आज बिहान करिब ६ः३० बजे दूध बिक्रीका लागि स्थानीय डेरीतर्फ जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको हो। बस्तीको बीच भागमै अचानक हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका घिमिरेको उपचारको अवसर नपाउँदै घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। बिहानको समय भएकाले बस्ती क्षेत्रमा मानिसहरूको आवतजावत भइरहेकै बेला हात्ती देखिनु र आक्रमण हुनु जोखिमपूर्ण रहेको स्थानीयले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शवको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
यस क्षेत्रमा पछिल्लो समय जङ्गली जनावर, विशेषगरी हात्ती बस्ती नजिक आइपुग्ने क्रम बढ्दै गएको भन्दै स्थानीयवासीले वन्यजन्तु नियन्त्रण तथा सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने स्थानीय प्रशासन र वन कार्यालयसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको छ।


