ढोरपाटन (बागलुङ), १७ साउन : बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो ।
जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ ।
बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उहाँको भनाइ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्य बताउनुहुन्छ ।
आचार्यले भन्नुभयो, “अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरेका गर्नुभएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जाने छौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।”
धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाकालको रोग लाग्न सक्ने उहाँको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले सुझाउनुभयो ।
सबैभन्दा बढी कोलिफर्म दिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले मुहान सरसफाइ र संरक्षणमा लागेको बताउनुभयो । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उहाँको भनाइ छ । पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्मा बताउनुहुन्छ ।