काठमाडौँ, १२ असार : गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएकोे र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुनसक्ने सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताउनुभयो । उद्धारका लागि हेलिकप्टरकोसमेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री लेखकले भन्नुभयो, “यसबाहेक मन्त्रालय मातहत सबै प्रदेशमा रहेका आपत्कालीन मानवीय सहायता केन्द्रलाई विपद् उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यस्ता केन्द्र स्थानीयस्तरमा विस्तार गर्न स्थानीय सरकारलाई आग्रह गर्दछु ।”
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत ई दिनेशप्रसाद भट्टले विपद्को पूर्वतयारीका बारेमा जानकारी गराउँदै उद्धारमा स्थानीयको सहयोगको ठूलो भूमिका हुने उल्लेख गर्नुभयो ।
त्यस्तै, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने बताउनुभयो । समिति सभापति कुशुमदेवी थापाले विपद् व्यवस्थापन र उद्धारमा गरिएको तयारीकाबारेमा समितिलाई अवगत गराउन र विगतबाट सिकेर थप प्रभावकारिताका साथ लाग्न मन्त्रालयलगायत सरोकारवाला निकायलाई आग्रह गर्नुभएको थियो ।
समिति सदस्यहरु वीरबहादुर बलायर, सरस्वती सुब्बा, रुपा शोसी चौधरी, भानुभक्त जोशी, सूर्यप्रसाद ढकाल, अनिशा नेपाली, अशोककुमार चौधरी, सम्झना थपलिया, अमृतलाल राजवंशी र बिजुला रायमाझीले मनसुनबाट हुने विपद्को पूर्वतयारीमा गर्नुपर्ने काम र उद्धारको व्यवस्थाका लागि विभिन्न सुझाव दिनुभएको थियो ।