Admission Open

बालकृष्ण खाणलाई आजै जिल्ला अदालत, काठमाडौमा उपस्थित गराउने प्रहरीको तयारी

काठमाडौँ, २७ वैशाख : पूर्वगृहमन्त्री एवम नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।

उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा भनेका छन् । खाँणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली खटिएको थियो ।
खाँण पक्राउ गरेलगत्तै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले जरुरी पूर्जी थमाएको थियो । दुवै जनालाई बुधबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराउने प्रहरी तयारी छ ।

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...