काठमाडौँ, २२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । शुभकामना सन्देशमा भनिएको छ, “नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।”