Admission Open

ad place

वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताउएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत बताए।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत रहेको बताए ।

“ग्याल्बो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो । ऐतिहासिक र प्रेरणादायी दिन हो । विभिन्न मिष्ठान्न भोजनका साथै शेर्पा समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ” सन्देशमा भनिएको छ ।

पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ । “ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत गर्नेछ भन्ने विश्वासका साथ शेर्पा समुदायलगायत सम्पूर्ण जनसमुदायमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद”, सन्देशमा भनिएको छ । (रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...