
काठमाडौं, १ माघ : पोखरामा आज भएको विमान दुर्घटनामा ३५ जनाको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो।
यती एयरलाइन्सको कलसाइन (एन–एएनसी एटीआर–७२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए। जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
त्यस्तै, आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।


