
काठमाडौँ, २९ पौष : नाबालिका बलात्कार अभियोग लागेर थुनिएका क्रिकेटर सन्दीप लामिछाने आज छुट्ने भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् ।
उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।
उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हुँदा काठमाडौं जिल्ला अदालतबाट पत्र प्राप्त भएपछि मात्र लामिछाने थुनामुक्त हुनेछन् ।


