
काठमाडौँ, २० पौष : पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको छ । आगलागीमा दुई जनाको ज्यान गएको छ । गएराति फिदिम नगरपालिका ८ का मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो ।
मृत्यु हुनेका गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ हुन् । आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको पाँचथर अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । उक्त घरमा सात जना सुतेकोमा दुई जनाको मृत्यु भएको ‚ दुई जना घाइते भएको र तीन जना भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डीएसपी हरि खतिवडा नेतृत्वको टोली पुगेर आगो नियन्त्रणसँगै उद्धार गरेको थियो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


