Admission Open

ad place

आज उँधौली पर्व : उँधौली पर्व नामाकरण र साँस्कृतिक महत्व

काठमाडौँ, २२ मङ्सिर : उधौली पर्व नेपाल साथै संसारभर छरिएर रहेका किराँत समुदायले विशेष गरी सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। खेत बारीमा अन्नबाली पाकेपछि आफ्ना इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मनाउने चलन रहेको पाईन्छ । यो पर्व मंसिर शुल्क पूर्णिमाको दिन मनाईने यो उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उँधौली साकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्ने गरेको पाईन्छ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ भने अन्नबाली भित्र्याई सकेपछि उधौली पर्व मनाउने चलन रहेको छ । यो पर्व मङ्सिर पूर्णिमाका दिनबाट सुरु भएर विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन रहेको छ । त्यस्तै उँधौली पर्व ऋतु परिवर्तनसँग पनि सम्बन्धित रहेको छ ।
त्यसैगरी ब्राह्मण समुदायमा पनि यस पर्वलाई विभिन्न ठाउँमा विभिन्न तरिकाले मनाउने गरेको पाईन्छ । कसैले पशुचौपाएमा रोगब्याधी केही नहोस् भनि गोठधुप गर्ने प्रचलन रहेको छ भने कसैले आफ्ना पितृ वा कुल देवता (कुलायनको पूजा) पनि गर्ने चलन रहेको छ । आफ्ना इष्ट देवतालाई विभिन्न तरिकाले आराधना गरी कुलमा केही नराम्रो नहोस्, सबै ग्रहदशा कटेर जाउन भनि विशेष विधिविधानपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

उँधौली पर्वको नामाकरण
उँधौली पर्वको नामाकरणका विषयमा पनि सबैको एकमत रहेको पाईँदैन विभिन्न विद्वानहरुले फरकफरक प्रसङ्ग र विषयलाई आधार मानेको पाईन्छ । कसैले नदी तथा खोलामा पाइने माछा ओरालो ९उँधो० वा धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई लिएर उधौली नाम रहेको भनेको पाइन्छ भनेकसैले कर्याङ कुरुङ उँधो वा गर्मी ठाउँतिर बसाई सर्ने गरेकोले उँधौली भनिएको हो भनेको पाईन्छ । यही उँधो शब्दबाट नै उँधौली पर्वको नामाकरण भएको हो भन्ने मान्यता रहेको छ ।

अन्य नामहरू
यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । यस उँधौली पर्वलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्ने गरेको पाईन्छ। उँधौली साकेला पर्वलाई न्वागी पूजा पनि भनिन्छ । यस पर्वलाई साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामलेसमेत चिनिन्छ ।

परम्परागत विधि
उँधौली पर्वलाई न्वागी पूजा पनि भनिन्छ। अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पूजा गर्ने गरिन्छ। किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाललगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्ना तरिकाहरू रहेका छन् । भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ(आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
त्यस्तै गरी उधौली पर्व बाली उत्पादन गरिदिएकोमा भूमिप्रति कृतज्ञता ज्ञापन गर्ने सन्दर्भसँग जोडिएको मानिन्छ ।

पूजा सम्पन्न गर्नका लागि कुखुरा, सुगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायत सामग्री आवश्यक पर्छ परम्परा अनुसार किराँती धर्मगुरु९बिजुवारनक्छुङरकुबि०ले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा उहिले गोरु काटेर तर अहिले नौसिङ्गे कुखुराको भालेको बलि दिने गर्छन् । सो बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइन्छ । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा शिली नाच नाच्ने गर्छन् । सो शिलिनाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ । साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ । सिली टिप्ने वा नाच्ने तरिका ठाउ“अनुसार फरक हुन्छ । यसरी नाच्दा वा सिली टिप्दा अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ । नेपालबाहिर खासगरी भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत यो साकेला शिली नाच लोकप्रिय छ ।

यस चाडमा चेलिरछेकुमा, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । वर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र सम्मान गर्नुपर्दछ । यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ ।

आधुनिक विधि
भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आ–आफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् । लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली ९सिरलिङ्गे० लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् । (स्रोत विकिपिडिया)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...