
काठमाडौ, १२ भदौ : यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु भएको छ । यसअन्तर्गत आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिने समय दुई दिन छुट्याएको छ । उक्त उजुरी भोलिबाट दिन सकिने छ।
यसैगरी नामावलीमा रहेको त्रुटि सच्याउन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।
मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि यही भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले बताएको छ ।


