Admission Open

खोटाङले पायो तीन अर्ब ६२ करोड बजेट

काठमाडौं : नेपाल सरकारले आर्थिक वर्ष २०७९र८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो । जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरलाई रु ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकालाई रु २४ करोड २४ लाख बजेट छुट्याइएको हो ।

हलेसी तुवाचुङ नगरलाई रु ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकालाई रु ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकालाई रु २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकालाई रु ४३ करोड एक लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकालाई रु २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई रु ३७ करोड ९२ लाख, साकेला गाउँपालिकालाई रु २५ करोड ६० लाख र रावाबेँसी गाउँपालिकालाई रु २८ करोड ७३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि रु तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि रु छ लाख मात्र बजेट बढेर आएको छ । जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा अन्य साना÷ठूला दर्जनौँ नयाँ योजनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने रावाबेँसी गाउँपालिका–२ लामीडाँडास्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि यस वर्ष रु ९४ करोड बजेट विनियोजन भएको छ ।

मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गलाई यस वर्षको बजेटमा समावेश गरेको पाइएको छ । यस्तै दिक्तेल बजार भएर भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग तथा दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका जिल्ला जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग कालोपत्रको काम भइरहेको छ ।

संघीय सरकारअन्तर्गत विभिन्न मन्त्रालयबाट बजेट विनियोजन भएर जिल्लामा सञ्चालित क्रमागत योजनालाई भने यस वर्ष पनि निरन्तरता दिएको पाइएको छ । जिल्लामा सञ्चालित सडक, सडक पुल, खानेपानी, भवन निर्माण जस्ता साना-ठूला योजनालाई सरकारले यस वर्ष पनि निरन्तरता दिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...